बिर्तामोडको बुधवारे हटियामा चल्यो डोजर
बिर्तामोड, जेठ ८ । झापाको बिर्तामोड स्थित बुधवारे हटियामा रहेका अब्यवस्थित टहरा बिर्तामोड नगरपालिकाले हटाएको छ । नगरपालिकाले बिर्तामोड ५ मा रहेको देवी हाटमा व्यवस्थित सपिङ महल निर्माणका लागि अब्यवस्थित रुपमा रहेका टहरा हटाएको हो ।

एक विगाह दुई कठ्ठा क्षेत्रफल रहेको सो क्षेत्रमा टहरा हटाउन बिर्तामोड नगरपालिकाले डोजर प्रयोग गरेको छ । त्यहाँ रहेका ब्यवसायीलाई टहरा खाली गर्न पटक पटक आग्रह गरेपनि उनीहरुले अटेर गरेपछि नगरपालिकाले डोजर प्रयोग गर्दै सो क्षेत्र खाली गराएको हो ।

टहरा हटाउन नगरपालिकाले शनिवार अन्तिम पटक माइकिङ गर्दै २४ घण्टे सूचना जारी गरेको थियो । तर, व्यवसायीले अटेर गरेर ठाउँ खाली नगरेपछि सोमवार मध्यान्य १२ वजेपछि डोजर लगाएर टहरा भत्काएको हो । यस अघि बिर्तामोड नगरपालिकामा सर्बदलीय बैठकवसी टहरा हटाउने निर्णय गरेको थियो ।

नगरपालिकाले सुरक्षाकर्मीकोे तैनाथीमा ७ वटा डोजर चलाएको छ । बिर्तामोड उद्योग वाणिज्य संघले डोजर रोक्ने प्रयास गरेको थियो । वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी , वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने ,नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीलगायतको नेतृत्वमा केहीबेर व्यापारीहरुले डोजर रोक्ने प्रयास गरेका थिए ।
