जापानको सेन्दाइमा बस दुर्घटना : दुई नेपाली विद्यार्थी सहित ४ जना गम्भिर घाइते
जापान, जेठ २ । जापानको सेन्दाइमा बस दुर्घटनामा दुई जना नेपाली विद्यार्थीको गम्भिर घाइते भएका छन् । मंगलबार साँझ भएको दुर्घटनामा परी घाइते हुनेमा काभ्रेका नवराज तामाङ र युवराज थापा रहेका छन् । थापाको ठेगना भने पुष्टि हुन सकेको छैन । थापा सेन्मोन गाक्कोउमा अध्ययनरत थिए भने तामाङ निहोनगो गाक्कोउमा अध्ययनरत थिए ।
सेन्दाईबाट इवातेका लागि हिँडेको बसमा समस्या देखा परेपछि जाँचका लागि रोकिएको थियो । सोही क्रममा बसलाई पछाडीबाट ट्रकले ठक्कर दिएको हो । बसमा हाकेन कम्पनी मार्फत् काम गर्ने ४० जना नेपाली रहेको बसमा सवार सुमन अर्यालले बजार दैनिकलाई जानकारी दिए ।

‘गाडीको स्टाट बन्द भएपछि बनाउन रोकिएको थियो । दुई जना नेपाली विद्यार्थीले चालकलाई मोबाइलको लाइट बालेर सहयोग गरिरहेको अवस्थामा ट्रकले ठक्कर दिएको हो’ अर्यालले भने, ‘ट्रकको ठक्कर पछि बस उछिटिएर १ सय मिटर पर पुगेको थियो ।’
दुर्घटनामा परी बस र ट्रकका चालक गम्भिर घाइते भएका छन् । गम्भिर घाइते भएकालाई अस्पताल लगिएको छ भने गाडीमा सवार अन्यलाई प्रहरीले सुरक्षित स्थानमा लगेको छ ।