आन्तरिक उडानका लागि ३ वटा जहाज खरिद गर्दै निगम
काठमाडौँ, वैशाख ४ । नेपाल वायुसेवा निगमले आफ्नै आन्तरिक स्रोतबाट तीनवटा साना जहाज खरिद गर्ने भएको छ । निगमका प्रवक्ता रमेश पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै दुर्गम क्षेत्रका जनताको मागलाई सम्बोधन गर्न र हवाई कनेक्टिभिटी बढाउन दुर्गम क्षेत्रमा उडान भर्न सक्ने तीनवटा साना जहाज खरिद गर्ने कार्ययोजना अघि बढाउने निर्णय भएको जानकारी दिए ।
यसका लागि निगम व्यवस्थापन उपसमितिले आफ्नो प्रतिवेदन पेश गरिसकेको र वरिष्ठ क्याप्टेन सुधीर समशेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको उनले बताएका छन् ।
उक्त उपसमितिले आफ्नो कामसमेत अगाडि बढाइसकेको छ । नयाँ जहाज खरिदले पर्यटन प्रवर्द्धन हुने, निगमको उपस्थितिले बजार सन्तुलित भई हवाई भाडा दर सुपथ हुने निगमको विश्वास रहेको छ ।