शुक्रबारबाट एसइई, जापानमा पनि परीक्षा केन्द्र


Bazar Dainik
30 March, 2023 6:39 pm

जापान, चैत १६ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । भोलि बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरू हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

‘परीक्षाको सबै तयारी पूरा भइसकेको छ, ७७ वटै जिल्लाका सबै जिम्मेवार निकायसँग अनलाइनमार्फत् बैठक सम्पन्न भएको छ’, उनले भने, ‘परीक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गराउन सबैमा आह्वान गर्दछौं ।’

उनले सबै परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष नियुक्ति, सुरक्षा व्यवस्था, जनशक्ति परिचालन, प्रश्नपत्र र उत्तर पुस्तिका पु¥याउने लगायतका सबै काम सकिएको जानकारी दिए ।

एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको आयोजनामा सात प्रदेशका प्रदेश सरकारका शिक्षा हेर्ने मन्त्रालयका सचिवहरू, सातै प्रदेशका शिक्षा विकास निर्देशनालयका निर्देशकहरू, ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईका प्रमुखहरू, राष्ट्रिय परीक्षा बोर्डका प्रदेश र शाखा कार्यालयका प्रमुखहरू, बोर्डका अध्यक्ष, सदस्य सचिव, परीक्षा नियन्त्रण, उपनियन्त्रक कर्मचारीलगायतको भर्चुअल बैठक सम्पन्न भएको बताए ।

उनले प्रत्येक प्रदेशमा प्रदेश सचिवको अध्यक्षतामा गठन भएका प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले बोर्डको निर्देशनको परिधिभित्र रहेर प्रदेश भित्रका परीक्षा सञ्चालन, व्यवस्थापन र अनुगमन गर्ने बताए ।

एसइई परीक्षाका सहभागिता जनाउनका लागि यस वर्षका लागि परीक्षामा सहभागी हुन २०७८ मा कक्षा नौमा रजिस्ट्रेसन भर्ने विद्यार्थी पाँच लाख १६ हजार ५९१ जना रहे पनि कक्षा १० सम्म आइपुग्दा भने परीक्षाका लागि आवदेन दिनेमा कूल चार लाख ८४ हजार २२७ जनाले फारम भरेका थिए । परीक्षा नियन्त्रक श्रेष्ठका अनुसार कक्षा नौबाट १० मा आउँदा ३२ हजार ३६४ विद्यार्थी घटेको जानकारी दिए ।

जापानमा पनि परीक्षा केन्द्र
बोर्डले यसवर्ष जापानमा पनि एसइई परीक्षा केन्द्र कायम गरेको छ । नेपालबाट रोजगारीका सिलसिलामा जापान आएका नेपालीका १४ जना सन्तानले जापानबाटै परीक्षा दिने भएका हुन् । जापान सरकारको अनुमतिमा नेपाली पाठ्यक्रममा अध्यापन हुने एभरेष्ट इन्टरनेशनल स्कुल टोकियोका विद्यार्थी एसइई परीक्षामा सहभागी हुने स्कुलका प्रिन्सिपल विष्णुप्रसाद भट्टले बजार दैनिकलाई जानकारी दिए ।

त्यसका लागि बोर्डले एभरेष्ट इन्टरनेशनल स्कुलमा परीक्षा केन्द्र निर्धारण गरेको छ । जापानमा रहेका परीक्षार्थीका लागि बोर्डले आवश्यक उत्तरपुस्तिका जापान पठाइसकेको र प्रश्नपत्र भने परीक्षा सुरू हुनु केही समय अगाडि इमेलमार्फत् पठाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्