जापानको इम्पेरियल प्यालेसमा साकुरा हेर्नेको भीड


Bazar Dainik
30 March, 2023 5:51 pm

टोकियो, चैत १६ । जापानमा साकुरा फूल्ने मौसम सुरु भएको छ । सडक आसपास, पार्क साथै पर्यटकीय क्षेत्रमा ढकमक्क फूलेको साकुराले जापानको सौन्दर्य बढाएको छ ।

जापान सरकारले साकुरा हेर्न आयोजना गरिने कार्यक्रमलाई अनुमति दिएसँगै टोकियोस्थित इम्पेरियल प्यालेसमा साकुरा हेर्नेको भीड बढेको छ । इम्पेरियल प्यालेस जापानका सम्राटको मुख्य निवास हो ।

इम्पेरियल प्यालेसमा सर्वसाधारणलाईसमेत गएर साकुरा हेर्ने अनुमति दिइएको छ । इम्पेरियल हाउसहोल्डले गत मार्च २५ देखि अप्रिल २ सम्म प्यालेसको इनुई सडकमा साकुरा हेर्न सर्वसाधारणलाई अनुमति दिइएको जनाएको छ । जसकारण दैनिक विभिन्न देशका हजारौँ पर्यटक साकुरा हेर्न इम्पेरियल प्यालेस पुग्ने गरेका छन् ।

सो सडकमा साकुरा हेर्न आउने सर्वसाधारणको सहजताको लागि बाक्लो सुरक्षाकर्मीको व्यवस्था गरिएको छ । साथै, चेकजाँचमा कडाई गरिएको छ । इम्पेरियल प्यालेस प्रवेश अघि शरीरको तापक्रमको समेत जाँच गरिन्छ ।

सडक विहान ९ बजेबाट दिउँसो ३ः ३० सम्म खुल्ला हुन्छ । कोभिडका कारण विगतका वर्षहरुमा सर्वसाधारणको आगवनमा प्रतिबन्ध लगाईएको यो सडक यसवर्ष जापान सरकारले खुलाएको हो । सडक प्रवेशमा कुनै पनि शुल्क तिर्नुपर्ने छैन ।

सडक आसपास राजा भनेर परिचित सोमई‐ योशिनो जातका साकुराका रुख रहेका छन् । इम्पेरियल प्यालेस क्षेत्रमा ठूलो पार्क रहेको छ । यहाँ फुकियाज दरबारसहित धेरै भवनहरु छन् ।

तस्बिरहरु : मनिषा चम्लागाईँ ।

प्रतिक्रिया दिनुहोस्