प्रदेशको नामलाई लिएर नेता आङ्बोमाथि आक्रमण


Bazar Dainik
21 March, 2023 6:37 pm


झापा, चैत ७ । कोशी प्रदेश’ नामलाई लिएर पहिचान पक्षधरको असन्तुष्टि बढ्दै गएको छ । प्रदेशको नाम ‘कोशी’ राखेपछि पहिचानवादीको आन्दोलनले अशान्ति बढ्ने अवस्था आएको हो ।

प्रदेश पुनःनामाकरण संघर्ष समितिमा आवद्ध युवाहरु व्यत्तिलक्षित आक्रमणमा उत्रिएका छन् । उनीहरुले नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोमाथि मंगलबार आक्रमणको प्रयास गरेका छन् ।

प्रदेशको नाम कोशी राखेको भन्दै असन्तुष्ट समूहले ताप्लेजुङमा आङ्बोमाथि आक्रमणको प्रयास गरेको हो । प्रहरीका अनुसार आङ्बो सवार गाडीमा आक्रमण हुँदा सामान्य क्षति पुगेको छ ।

पार्टीको जिल्लास्तरीय बैठकमा सहभागी हुन सदरमुकाम फुङ्लिन जाने क्रममा आङ्बोमाथि लिम्बूवान कार्यकर्ताले सदरमुकामनजिकैको तोक्मेडाँडा छेउमा आक्रमण प्रयास भएको हो ।

लिम्बुवान कार्यकर्ताले आक्रमण गर्दा उनी चढेको गाडीमा सामान्य क्षति पुगेको छ । आङ्बोको हत्या गर्ने लक्ष्यसहित संघर्ष समिति लागिरहेको भन्दै लिम्बुवान कार्यकर्ताहरु मोटरसाइकलमा सवार भएको भिडियो सार्वजनिक भएको छ ।

आक्रमणकारीले तथानाम गालीगलौज गर्दै सबैतिर ढुकेर आङ्बोको हत्या गर्ने लक्ष्य रहेको बताएका छन् । आङ्बोसहितका नेताहरु अहिले सदरमुकाम पुगिसकेका छन् । बाटो ढुकेर बसेका प्रदर्शनकारीले एक्कासि ढुंगा हान्दै नाराबाजी गरेको आङ्बोका स्वकीय सचिव पुजन मगरातीले जानकारी दिए ।

घटनालाई लिएर आङ्बोले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘जोसँग सबै भन्दा बढी अपेक्षा, विश्वास र भरोसा हुन्छ अपेक्षित परिमाण हासिल नहुँदा उसैप्रति आक्रोश, घृणा, आवेग व्यक्त हुनुलाई मैले स्वभाविक रुपमा लिएको छु । हामीले ल्याएको लोकतान्त्रिक व्यवस्थामा शमन्तिपूर्ण रुपमा गरिने विरोध, असहमतिप्रति मेरो सधैँ सम्मान रहनेछ ।’

सोमबार मात्रै ओखलढुंगा पुगेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि आक्रमणको प्रयास भएको थियो ।

प्रतिक्रिया दिनुहोस्