प्रधानमन्त्री प्रचण्डले पाए दोस्रो पटक विश्वासको मत


Bazar Dainik
20 March, 2023 6:09 pm

काठमाडौँ, चैत ६ । फागुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकबाट उनले नेपाली कांग्रेससहित १० वटा दलबाट विश्वासको मत पाएका हुन् ।

प्रचण्डलाई विश्वासको मतको पक्षमा १७२ मत परेको हो । मतदानमा उपस्थित २६२ जनामध्ये प्रस्तावको विपक्षमा ८९ मत परेको छ । उता मत दिन्न भन्ने पक्षमा १ मत परेको छ ।

प्रचण्डलाई नेपाली कांग्रेससहितका ११ दलले विश्वासको मत दिएका हुन् । उनलाई नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले मत दिएनन् । नेपाल मजदुर किसान पार्टी तटस्थ बस्यो ।

उनले प्रधानमन्त्री भएपछि संसद्बाट दोस्रो पटक विश्वासको मत लिएका हुन् । राष्ट्रपति र उपराष्ट्रपति चयनका क्रममा नेकपा एमालेसहितका सात दलीय गठबन्धनबीच मतैक्यता हुन सकेको थिएन ।

त्यसपछि नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने परिस्थिति सिर्जना भएको थियो ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । त्यही व्यवस्थाअनुरुप प्रधानमन्त्रीले यही चैत १२ गतेसम्ममा विश्वासको मत लिइसक्नुपर्ने थियो ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल गत पुस १० प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री दाहालले पहिलोपटक गत पुस २६ गते सदनबाट ९९ प्रतिशतभन्दा बढी विश्वासको मत प्राप्त गरेका थिए ।

माओवादी केन्द्रसहित नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चालगायतको समर्थन उनलाई मिलेको छ ।

प्रधानमन्त्रीलाई विश्वासको मतका लागि एक सय ३८ सांसदको मत आवश्यक पर्थ्यो । प्रतिनिधिसभामा माओवादी केन्द्रको ३२, कांग्रेसको ८८, रास्वपाको १९, जसपा ११, एकीकृत समाजवादी १०, जनमत पार्टी छ, लोसपा चार, नागरिक उन्मुक्तिको चार र जनमोर्चा एक सांसद छन् । यस्तोमा उनलाई ६० प्रतिशत बढी सांसदको मत मिलेको हो ।

प्रतिनिधिसभामा एमालेको ७९, राप्रपाको १४, स्वतन्त्र दुई, नेमकिपा र आमजनता पार्टीका एक सांसद छन्। उनीहरु विश्वासको मतको विपक्षमा उभिएका छन् ।

प्रतिक्रिया दिनुहोस्