स्ववियु निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता
काठमाडौँ, फागुन २७ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि शनिबार देशभरका आंगिक र सामुदायिक क्याम्पसमा उम्मेदवारी दर्ता हुँदै छ ।
बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारका लागि मनोनयनपत्र दर्ता हुने निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ ।
समानुपातिक तर्फको नामावली पनि शनिबार नै पेश गर्नुपर्ने निर्वाचन कार्यतालिका छ । साँझ ५ बजे प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने तालिका छ । निर्वाचन कार्यतालिका अनुसार भोलि दाबी विरोध, छानबिन र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
देशभरका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ५ गते निर्वाचन हुँदैछ । सत्ता साझेदार दलका विद्यार्थी संगठनले तालमेल गरेर चुनावमा जाने तयारी गरेका छन् । उनीहरूले नेकपा (एमाले) निकट अनेरास्ववियु विरुद्ध गठबन्धनको तयारी गरेका हुन् ।
प्रत्येक दुई÷दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुन सकेको छैन । २०६५ साल चैत ६ गते भएको स्ववियु निर्वाचन एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो। त्यसयता नभएको निर्वाचन यो वर्ष हुन लागेको हो ।