फागुन २५ बाट बुद्ध एयरले भद्रपुर पोखरा दैनिक उडान गर्ने, भाडा ७ हजार ५ सय


Bazar Dainik
4 March, 2023 11:47 am

झापा, फागुन २० । बुद्ध एयरले कम्पनीका अनुसार ९ मार्च (२५ फागुन)देखि पोखराबाट भद्रपुरको दैनिक सिधा उडान हुने भएको छ । दैनिक एउटा उडान तय गरेको कम्पनीले यो गन्तव्य उडानका लागि प्रोमसनल भाडादर ७ हजार ५०० रुपैयाँ निर्धारण गरेको जनाएको छ ।

एक घण्टा उडान अवधि रहेको यो गन्तव्यमा बुद्धले पोखरा–भद्रपुर बिहान ६ः१५ बजे र भद्रपुर–पोखरा साँझ ६ः५५ बजे गर्ने तालिका बनाएको सूचना अधिकारी दिपेन्द्रकुमार कर्णले जानकारी दिए । यो उडानमार्फत दुवै गन्तव्यमा पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउँदै उनले भने, ‘यो उडानबाट दुवै पर्यटकीय सहरका सर्वसाधारण लाभान्वित हुनेछन् । दैनिक उडानबाट पर्यटकीयस्थलमा चहलपहल बढ्ने विश्वास लिएका छौँ ।’

उडानमार्फत् यात्रुले भद्रपुर नजिकै रहेका चियाबगान, विभिन्न धार्मिकस्थल तथा देशकै होचो ठाउँको अवलोकनका साथै स्थानीय खानपानको स्वाद पनि लिन सक्ने उनले जानकारी दिए ।

यात्रुले इलाम र ताप्लेजुङबाट पूर्वको सगरमाथा, मकालु, कञ्चनजंघालगायतका हिमश्रृंखला सजिलै हेर्न सक्ने बताइएको छ । साथै सिक्किम तथा पश्चिम बंगालतर्फ दार्जिलिङ, सिलिगुढी तथा विभिन्न सहरका पर्यटकहरुलाई पोखरा आउजाउ गर्न थप सहज हुने उनले बताए ।

‘पर्यटकले भद्रपुर तथा सिमापारीका पर्यटकहरुले पोखरा तथा वरिपरि रहेका तालतलाउ, हिमश्रृंखलाको आनन्द लिन सक्छन् । एडभेन्चर्स, ट्रेकिङ रुचाउने पर्यटकका लागि पोखरा अपरिहार्य गन्तव्य हो,’ उनले भने ।

यसका लागि बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक प्याकेजहरु सञ्चालनमा ल्याएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्