याद आइरहने आफन्तको खोजी
काठमाडौँ फागुन ६ । ठेगानाबेगरका आफ्नाहरूको खोजीमा भौंतारिनुजति अर्को पीडा के हुन्छ र ? ठ्याक्कै हुलिया खुट्याउन नसके पनि आमा र भाइको अनुभूति गराउने दुई आफन्त सधैं यादमा आइबस्छन् । उनीहरूलाई खोज्न भनेर अन्दाजी १८ वर्षका धीरज राई नपुगेको ठाउँ सायदै छैन ।
उनले किरात राई समुदायका थुप्रै कार्यक्रम भ्याए । स्कुलमा पढ्दा चिनजान भएका साथीको घर धरान गए, बजार र गल्ली चहारे । उनी संरक्षणमा रहेको बालगृहले भृकुटीमण्डपस्थित बालबालिका खोजतलास केन्द्र १०४, नेपाल प्रहरी, सशस्त्र तथा क्याम्पसका प्राध्यापकहरूसँग सम्पर्क ग¥यो । तर कोही पनि आफन्त दाबी गर्न आएनन् ।
चार वर्षअघि काठमाडौंकै एक बालगृह हुँदै आश्रय दिन पु¥याइएको नुवाकोटको सनराइज अनाथालयले समेत उनको तस्बिरसहित ‘कसैले यी बालक अथवा यिनका आफन्तलाई चिन्नुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला’ भन्ने विवरण राखेर पोस्टर सार्वजनिक कार्यक्रम र सामाजिक सञ्जालमा राख्यो । उनको सपनामा आउने अभिभावक, आफन्तहरू फेला परेनन् ।
अन्दाजी १८ वर्षका धीरज राई । आफ्नो घर, ठेगाना कहाँ हो ? घर छाड्दाको उनको बाल मस्तिष्कले ख्यान राखेन । सानैमा गाउँदेखि काठमाडौंसम्म कहालीलाग्दा धुमिल सम्झना छन् । १३ वर्षअघि अन्दाजी ५ वर्षको हुँदा एक जना गाउँले दाइले काठमाडौं ल्याएर कोही व्यक्तिको घरमा बाल श्रमिक राखेर छाडे । त्यसपछि छोडिगएका दाइ भेट्न कहिल्यै फर्केनन् अथवा उनले चालै पाएनन् । ती गाउँले दाइ को थिए, उनी अड्कल काट्न पनि सक्दैनन् । अरू दुई/तीन घरमा बाल श्रमिक भएर काम गरिसकेपछि प्रहरीले उद्धार गरेर बालगृहको जिम्मा लगाएका थिए । प्रहरीबाट उद्धार हुँदा आफू अन्दाजी नौ वर्षको रहेको उनी सम्झन्छन् ।
आफ्नो परिवार छोडेर काठमाडौं आउँदा बाआमा र भाइ गाउँको एउटा नेपाली कागज उद्योगमा काम गर्थे । कागज उद्योगको नजिकै ठूलो ढुंगा थियो । जहाँ उनी भाइसित खेल्न जान्थे । कागज उद्योगमुन्तिर एउटा विद्यालय थियो । यसबाहेक बाआमाको नाम, गाउँको ठेगाना उनलाई याद छैन । काठमाडौंमा आएर बाल श्रमिक बसेको एक घरमा घरमूलीको नाम ईश्वर भण्डारी र उनका छोरालाई आयुष भनेर बोलाउने गरिन्थ्यो भन्ने याद गर्छन् । भण्डारीको घरछेउमा एउटा ठूलो विद्यालय थियो तर नाम के थियो थाहा पाउँदैनन् ।
काठमाडौं आउँदै गर्दा गाउँबाट ६/७ घण्टा हिँडेर धरान बजार हुँदै आएको बताएको आधारमा उनी आश्रित बालगृहहरूले धनकुटा, भोजपुर, ताप्लेजुङलगायत पूर्वी भेगमा आफन्तको खोजी गर्न प्रहरी, सशस्त्र तथा क्याम्पसका प्राध्यापक, बालबालिका खोजतलास केन्द्रमार्फत पहल गरे । आमाले सानैदेखि ‘आफ्नो कुल, थर बिर्सनुहुन्न, हामी राई हौं’ भन्ने गर्थिन् । यही आधारमा उनले आफू राई समुदायको नै भएको बताउने गरेकाले पूर्वी भेगमा खोजी गरेको सनराइज अनाथालयमा कार्यक्रम व्यवस्थापक राजेन्द्र लामाले सुनाए । ‘उनले धरान झरेको, आफूलाई आमाले राई हो भनेर भन्ने गरेको आधारमा खोज्यौं, तर भेट्न सकिरहेका छैनौं,’ उनले भने, ‘उनका बाले जहिल्यै आमालाई पिट्थे रे, त्यही भएर बुबालाई उति खोज्दैनन्, सपनामा आमा देखेँ, कहिले भाइ देखेँ भन्छन्, यो कुराले उनलाई धेरै मानसिक तनाव हुने गरेको छ ।’
कक्षा ८ मा अध्ययनरत उनलाई बसुन्धराको एक होस्टलमा राखेर बालगृहले पढाइरहेको छ । पारिवारिक माहौलको अनुभव गराउन स्कुल पढ्दै चिनजान भएका धरानका एक साथीसँग पनि चाडपर्वमा पठाउने गरिएको छ । ‘धरानतिर जाँदा आमा देखिहाल्छु कि, आफन्त भेटिहाल्लान् कि भनेर बजारबजार हेर्छन्, अनि निराश हुन्छन्,’ लामाले थपे, ‘राईहरूको कार्यक्रममा सहभागी हुन कहिल्यै छुटाउँदैनौं, कार्यक्रममा जाँदा जति उत्साहित भएर निस्केका हुन्छन्, फर्किंदा नरमाइलो मान्छन् ।’
सनराइज अनाथालय आइपुगेको चार वर्षदेखि नै उनीहरूले धीरजका आफन्त खोजिरहेका छन् । यस अनाथालयमा उनीजस्तै अरू तीन जनाको पनि परिवार खोज्दा पत्ता लागिरहेको छैन ।