म खहरे कवि !


Just In
15 February, 2023 5:26 pm

म खहरे कवि

म पनि त कवि रे!
न प्रतीक न बिम्ब
म जोड्छु केही शब्द,
न रस न राग
न लय न छन्द,
म केवल बगाउछु शब्द,
जसरी बर्षायाममा खहरे बग्छ,
त्यो खहरे,
जो उर्लिएर बग्दा नजिकका सबै खोला, नाला उराल्छ,
र बग्नु छाड्दा अस्तित्व नै मेटिए जसरी चुपचाप बस्छ,
हो, म त्यस्तै प्रकृतिको कवि रे,
न लय न छ्न्द,
न यति न गति
म त यसै कवि रे!

अनायासै शब्द जोडिरहदा,
भन्छन् मलाई,
भन्छन् मलाई किन त सुमधुर रचना गर्दिनस,
किन विसंगत पक्ष केलाउछेस,
तर सुन न तिमी
मसंग प्रेम बारे लेखु भने,
यहाँ आफ्नै नजिककाबाट अस्तित्व लुटिएका कहानी छन् ,
जिउने आशा हुँदाहुँदै जिउदै जलेका र
जिउदै रहेर पनि अन्तरमनमा मरेका
ओठमा झुटो मुस्कान र भारी मन बोकि
आफ्नो गन्तव्य यात्रामा लम्कि रहेका मान्छेहरु छन्,
अनि म कसरी प्रेम भरौ शब्दमा,
म कसरी भरौ मिठास ?
प्रतीक न बिम्ब,
यति न लय
म त यसै कवि रे!

तिमी मलाई त्यहाँ प्रेमका कविता कोर्न भन्छौ,
जहाँ न्याय पाउन धर्ना बस्दा हेपिनु पर्छ,
जहाँ अदालतले मात्रै होइन सारा न्यायिक प्रणालीले
कालो पट्टी बाधेको छ,
कानमा रुइ जमाएको छ,
राजनितिक शक्तिले जिब्रो काटि दिएको छ
न उ केही सुन्छ, न त केही बोल्छ,
न त केही देख्छ,
केवल दुखी र शोषित वर्गलाई अझ शोषण गरिरहन्छ!
अनि तिमी भन्छौ साथी,
प्रेमबारे कविता लेखिनस,
न प्रतीक न बिम्ब,
न लय न छन्द,
के लेखु कविता?
के गरुँ रचना,
त्यही पनि म त यसै कवि रे!!

शिक्षित, अर्धशिक्षित तथा अशिक्षित युवाको
फ्याक्ट्री भएको मेरो देशको राजधानी सहरमा
घरै पिच्छेका सडक र साघुरा गल्लीमा
आफ्नो गन्तव्य खोज्दा,
एक आपसमा एकै इन्चको फरकमा रहेका घरहरुको
कुनै कुनामा बसि,
निरास हुँदै,
स्वदेशमा आफ्नो भविष्य नदेखी,
खाडीमा रगतपसिना बगाइरहेका मेरा बुवा,
र अन्कन्टार हुँदै गएका गाउँमा
एक्लै बसेकी मेरि आमाको
मिलनका दिन कहिले आउलान भन्दै,
आफुले खुल्ला आँखाले देखेका सपनाका लागि
संघर्ष गर्दागर्दै,
म कतै बिलाउन पुगेछु,
शब्दहरु जोड्न बिर्सेछु
त्यसैले त म खहरे कवि भएछु,
न यति न लय,
न प्रतिक न बिम्ब
म जोड्छु केही शब्द
केवल हराएको अस्तित्व जोगाउन,
जसरी जोडले बर्खामा सोसाउछ खहरे,
त्यसरी नै जोश बोकि,
म बोल्छु केही भावना,
म लेख्छु केही शब्द
किनकि म खहरे कवि,
किनकी म खहरे कवि!!

प्रतिक्रिया दिनुहोस्