प्रिय जुनी
गौरव लुइँटेल।
जुनी, जुन बेला हामी भावनात्मक रूपमा नजिकिँदै थियौँ, त्यस बेला विज्ञानले चमत्कार गरिरहेकै थियो । एक अर्काप्रति प्रेम व्यक्त गर्न मोवाइल फोनकै प्रयोग हुन थालिसकेको थियो । फेसबुकले पनि भिडियोकल गर्ने सुविधा थपिसकेको थियो । त्यसका अलावा, मनका बहहरू बिसाउन भाइबर र स्काइपका विकल्पहरू पनि थुप्रै थिए । तर किन हो, हामीले आफ्नै हातले प्रेमिल शब्दहरू लेखेर हुलाकबाट नै चिठ्ठी पठाउने बिचार ग¥यौँ । यो जमानामा पनि हुलाक टिकट टाँसेर प्रेसित भएको हाम्रो पत्र बोक्ने त्यो हुलाकी दाइले पनि एक पटक उदेक मानेथे होला । तर जे होस् । मलाई लाग्छ, भर्खरै अङ्कुरण हुँदै गरेको हाम्रो प्रेमलाई त्यही पत्रहरूले सिंचित गरेर झाङ्गिदै अन्ततः हामी वैवाहिक बन्धनमा बाँधिन पुगेका थियौँ ।
विवाह भएको करिब ६ वर्षपछि आज तिमीलाई अर्को पत्र लेख्दै छु । यसलाई तिमीले तिम्रो जन्मदिनको कोसेलीको रुपमा लिए पनि हुन्छ । ‘सँधै सँगै त छौँ, मुखैले भनेको भए हुन्थ्यो नि, किन पत्र नै लेख्न परेको होला !’ भन्ने तिमी सोच्दैछौ होला । तर केही कुराहरू यस्ता हुँदा रहेछन्, जुन बोल्नको लागि पनि आँटको जोहो गर्नुपर्ने रहेछ । आँटै नआएपछि हामीजस्ता ‘कायर’हरूले कलमको साहारा लिने गर्दारहेछ ।
प्रिय जुनी, गएको महिना पोखरामा भएको हवाइजहाज दुर्घटना तिमीलाई थाहा नै छ होला । दुर्घटनाको खबर सुन्दा पहिलो दिन ‘ए प्लेन खसेछ है’ भन्ने मात्रै लाग्यो । मानौँ, भिरबाट एउटा बुढो गोरु खसेको थियो, खासै वास्ता लागेन । दैनिक जसो नयाँ नयाँ भाइरल खबरहरूले सामाजिक सञ्जाल तात्ने गर्छ । धेरै उपादयताहरू हुँदा हुँदै पनि सामाजिक सञ्जालले हामीलाई संवेदना शुन्य नै बनाइसक्यो कि भन्ने लाग्छ । तर जब दोस्रो दिन त्यो प्लेनमा रामपुरमा सँगै पढेका सहपाठी मित्र समेत परेको खबर आयो, तब मन निकै बिक्षिप्त भयो ।
साथीको हँसिलो बाल्क एण्ड वाइट फोटोसहित समवेदनाका पोस्टले जब मेरो न्युजफिड भरिए, तब भारी मन लिएर साथीको प्रोफाइल खोलेँ । उसको श्रीमतीसहित काखमा सानी नानी बोकेको प्रोफाइल फोटोमा मेरा आँखाहरू परेपछि म अवाक भएँ । अरु साथीले जस्तै समवेदनाका शब्दहरू समेत लेख्ने आँट आएन । बितेर जाने त गइहाले तर उनको सम्झनामा बाँच्नेहरू प्रत्येक दिन मर्नुपर्छ । अनि सोचेँ, यदी त्यस दिन त्यो प्लेनमा म नै सवार भएको थिएँ भने ?
प्रिय जुनी, मृत्यु एक मात्र अन्तिम सत्य हो । लेखनाथ पौड्यालले ‘कालको महिमा’ कवितामा भने जस्तै यसले राजा वा रंक कसैलाई छुट्याउँदैन । जब यस धर्तीमा उसको इहलिला समाप्त हुन्छ वा मिति पुग्छ, तब काल आएर टप्प टिपेर लगिदिन्छ । उसलाई धर्तीबाट टिपेर लगेपछि को को रुन्छन् वा उसमा आस्रितहरूको के हाल हुन्छ, निस्टुरी कालले ख्याल राख्दैन । यो काल भन्ने चिज कुन बेला आउँछ, कसैले भन्न सक्दैन । तर एउटा कुरा के सत्य हो भने नि, यस धर्तीमा अजम्बरी कोही पनि छैन । बाँचुन्जेल हामी जति नै घमण्ड गरौँ वा जति नै राम्रो कीर्ति राखौँ, सबैले एक दिन यस धर्तीलाई त्यागेर प्रकृतीको पञ्चतत्वमा बिलिन हुनैपर्छ । महाकवि लक्ष्मी प्रसाद देवकोटाले भने जस्तै एक दिन हामी शुन्यमा शुन्य सरी बिलाउनै पर्छ । जुन कुरा निश्चित छ, त्यो भएर नै छोड्छ ।
हो जुनी, यदी म भाग्यमानी रहेछु भने तिमीभन्दा अगाडी मैले नै यो स्थुल शरीर छोड्नेछु । त्यतिखेर तिमीले आफुलाई मात्रै होइन, हाम्रा नानीबाबुहरूलाई समेत सम्हाल्नु पर्नेछ । मेरो पार्थिव शरीरमा तिमीले धेरै बिलौना मात्रै गरेर बस्यौ भने अर्को प्रलय अवश्यंभावी छ । आँसु नै नझार भन्न खोजेको त होइन । त्यती जड पनि बन्न नसकिएला । तर तिम्रो नयनबाट बग्ने त्यो आँसुसँगै तिमीले मसँग बिताएका सम्झनाहरू पनि बगाइदिनू किनभने तिम्रो भागमा परेको बाँकी जीवन बिताउन ती सम्झनाहरू तगारा बन्नेछन् ।
तिमीसँग विवाह हुनुभन्दा निकै अघि मैले तिलगंगा आँखा प्रतिष्ठानमा मृत्युपर्यन्त आँखा दान गर्न नाम लेखाएको थिएँ । त्यसैले मेरो पार्थिव शरीरलाई पशुपतिको विद्युतिय शवदाह गृहमा जलाउनुअघि मेरो आँखा दान गर्न नबिर्सिनू । आँखा मात्रै होइन, मेरो शरीरमा दान गर्न मिल्ने जति पनि अङ्गहरू छन्, सबै दान गरिदिनू । म बाँचुन्जेल कसैको काम आउन सकिनँ हुँला तर मेरो स्थुल शरीरका अङ्गहरूले कसैलाई जीवनदान मिलोस् ।
माया, हाम्रा बच्चाहरूबाट मैले कुनै ठूलो महत्वकांक्षा राखेको छैन । उनीहरू भविष्यमा जे चाहन्छन्, त्यही बनुन् । तर माया, यो कलियुगमा असल मानिसको ठूलो खडेरी छ । मलाई थाहा छ, यो सतीले सरापेको देशमा असल मानिसलाई कहिले पनि राम्रो हुँदैन । तर म चाहन्छु जति नै प्रतिकुल परिस्थिती भए पनि यिनीहरूले बाटो नबिराउन् । कुनै स्त्रीलाई उसको इच्छाबेगर छुनु हुँदैन भन्ने व्यवहारिक ज्ञान छोराले पाओस् । कुनै कुरामा पनि कोही छोरा मान्छेभन्दा कम छैन भन्ने साहस हाम्री छोरीमा आओस् । आफू र आफ्नो परिवारलाई दिन सक्ने भएपछि यो समाज र राष्ट्रलाई पनि केही दिनुपर्छ भन्ने भावना यिनीहरूको मनमा विकास होस् । आफ्नो जीवनको गोरेटो आफै खन्ने आँट, धैर्यता र क्षमता यिनीहरूमा होस् । छिट्टै स्वावलम्बी बनुन् । मेरो अनुपस्थितीमा तिमीले यिनीहरूलाई यस्तै वातावरण दिएर हुर्काउनू ।
प्रिय जुनी, यस धर्तीमा पदार्पण हुने बित्तिकै सास रोकिएका शिशुहरू पनि छन् । अनि एउटै जुनीमा सयौँ जीवन जिउनेहरू पनि छन् । कालले तिम्रो भाग्यमा मेरोभन्दा लामो आयु दिएको छ भने ‘सेतो धर्ती’ उपन्यासका आमाहरूले जस्तै सफेद जिन्दगी नबाँच्नू तिमीले । जिन्दगीलाई सँधै रंगीन बनाइराख्नू । मेरो सम्झना आउँदा आँसु पुछिदिने मात्रै होइन, अरू बेलामा पनि तिम्रो ओठमा मुस्कान छरिरहने मन मिल्ने साथी यदी कोही भेट्यौ भने निशंकोच जीवनसाथी बनाउनु । मेरो शुक्ष्म शरीर जहाँ भए पनि, जुन लोकमा पुगे पनि, तिमी खुसी भएको देख्दा मेरो आत्माले शान्ति पाउनेछ ।
प्रिय जुनी, सँधै रमाइला र मायाका शब्दहरू लेख्ने मेरा यि हातहरूले आज थरथर काम्दै नरमाइला अक्षरहरू लेखेछन् । यसलाई अन्यथा नसम्झ । जुन मानिसले आफ्नै मृत्युलाई स्वीकारेको हुन्छ, उसले हरेक निमेषको आनन्द लिन जानेको हुन्छ । हो माया, मलाई त्यस्तै फकिर बन्न मन छ, जो भविष्यको चिन्ता नगरी वर्तमानमा बाँचेको हुन्छ । पत्रमा यति लेख्ने बित्तिकै मेरो परलोकगमन भइहाल्ने त होइन । तर नियतीको खेल खेल्दा खेल्दै कुनै बेलामा प्रकृतिको इहलिलाले मेरो प्राण पखेरु उड्यो भने यही पत्रलाई मेरो अन्तिम इच्छा सम्झिनू । होइन, ईश्वरले हामी दुबैको भागमा लामै आयु लेखेको रहेछ भने तिम्रो बुढेसकालको लाठी म र मेरो बुढेसकालको छहारी तिमी नै हुनेछौँ। अहिलेलाई यति, बाँकी कुरा अर्को पत्रमा । जन्म दिनको धेरै धेरै शुभकामना । बाँचुन्जेल तिमीलाई सँधै सुखी राखिरहन सकुँ ।
उही तिम्रो, जीवनसाथी ।