प्रदेश‐ १ का ४ पालिका, जहाँ पुगेको छैन सडक सञ्जाल
विराटनगर, माघ २३ । प्रदेश‐ १ का एक सय ३७ वटा पालिकामध्ये ४ वटा गाउँपालिकाका केन्द्रसम्म अझै सडकको सञ्जाल पुग्नसकेको छैन ।
प्रदेशका सडक, पूर्वाधार तथा सहरी विकासमन्त्री दुर्गाप्रसाद चापागाईंले ४ वटा पालिकाका केन्द्रसम्म सडक–सञ्जाल पुग्न नसकेको बताए । मन्त्री चापागाईंका अनुसार सडक सञ्जाल नपुगेका गाउँपालिकाका केन्द्रमध्ये सोलुखुम्बु र ताप्लेजुङमा १/१ र संखुवासभामा २ वटा गाउँपालिका छन् ।

सोलुखुम्बुको खुम्बु–पासाङह्लामु र ताप्लेजुङको फुरम्बु तथा संखुवासभाका सिलिचुङ र भोटखोला गाउँपालिकाका केन्द्रसम्म अझै सडकको सञ्जाल पुगेको छैन ।
मन्त्री चापागाईंले खुम्बुपासाङह्लामु र फुरम्बु गाउँपालिकामा ४० किलोमिटरको ट्रयाक खोलेपछि मात्र पालिकाको केन्द्रसम्म सडक पुग्ने जानकारी दिए ।
संखुवासभाका सिलिचुङ र भोटखोलामा भने अझै प्राविधिक अध्ययन भएको छैन । चापागाईंले आफ्नो पहिलो प्राथमिकता पालिकाका वडाका केन्द्रदेखि पालिकाको केन्द्रसम्म सडकसञ्जाल पुर्याउने रहेको बताए ।