गृहमन्त्री रविको नागरिकता अबैध, गयो मन्त्री, संसाद र पार्टी सभापती पद
झापा, माघ १३ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा फैसला सुनाउँदै उनी प्रतिनिधि सभा सदस्य हुन अयोग्य रहेको बताएको छ ।
शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भइसकेको नागरिकता पुनःप्राप्तिका लागि प्रक्रिया पूरा नगरेकाले उनी सांसद हुन अयोग्य रहेको फैसला गरेको हो । यो फैसलासँगै लामिछानेको सांसद पद खारेज भएको छ ।
लामिछाने नेपालको नागरिक कायम नरहेको सर्वोच्च अदालतको फैसलापछि उनको मन्त्री पद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद स्वतः खारेज हुने भएको छ ।
नेपालको संविधानअनुसार कुनै पनि दलको सदस्य वा सांसद हुन नेपाली नागरिक हुनु अनिवार्य छ । लामिछानेको नागरिकता कायम नरहेपछि उनी कुनै पनि दलको सभापति त के सदस्य पनि रहन अयोग्य भएका छन् । त्यस्तै सांसद र मन्त्री हुन पनि अयोग्य भएका छन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिक हुन अयोग्य व्यक्ति पार्टी सभापति नहुने भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद रिक्त भएको बताए ।
लामिछानेले अमेरिकी नागरिकता लिएको र नेपालको नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेकाले उनी कानुनसम्मत रूपमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन योग्य नरहेको अदालतको ठहर छ ।
लामिछाने मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । सर्वोच्चले उनी सांसद हुन अयोग्य रहेको फैसला सुनाएसँगै अब उक्त क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने भएको छ ।