पोखरा जहाज दुर्घटनाः ब्ल्याक बक्स परीक्षणका लागि विदेश पठाउने तयारी, सकियो स्थलगत जाँच


Bazar Dainik
23 January, 2023 2:06 pm

झापा, माघ ९ । गत माघ १ गते पोखरामा भएको यती एयरको एटीआर–७२ विमान दुर्घटनाको कारण पत्ता लगाउन गठित आयोगले ब्ल्याक बक्स अनुसन्धानका लागि विदेश पठाउने भएको छ ।

ब्ल्याक बक्समा भएको ककपीट भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्ड विदेश पठाउने तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

‘आयोगले स्थलगत अध्ययन सकिसकेको छ । विवरण संकलन जारी छ । जहाजमा भएको सीभीआर र एफडीआर अनुसन्धानका लागि विदेश पठाउने तयारी भइरहेको छ,’ मन्त्रालययका एक कर्मचारीले भने, ‘आउँदो साताभित्रै पठाइने छ ।’

माघ १ मा पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना हुँदा चालक दलसहित ७२ जनाको मृत्यु भएको थियो । जहाज सेती खोंचमा खसेको थियो । घटनाको कारण पत्ता लगाउनका लागि सरकारले जाँच आयोग गठन गरेको छ ।

पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा गठित आयोगमा हवाई विज्ञद्वय पूर्वउपरथी दीपकप्रकाश बास्तोला र पूर्व क्याप्टेन सुनिल प्रधान र हवाई मर्मत इञ्जिनियर एकराजजंग थापा सदस्य छन् ।

आयोगको सदस्यसचिवमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् । आयोगलाई ४५ दिनको समयावधि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्