व्यवसाय क्षेत्रका समस्या हल गर्न सभामुखलाई अपिल
झापा, माघ ९ । नेपाल उद्योग वाणिज्य महासंघका बस्तुगत संघका पदाधिकारीले सभामुख देवराज घिमिरेलाई वर्तमान आर्थिक तरलताको अभाव, बैंकको ब्याज, विभिन्न ऐन संशोधनका विषयमा ध्यानाकर्षण गराएका छन् ।
बस्तुगत संघका उपाध्यक्ष अन्जनकुमार श्रेष्ठको नेतृत्वको टोलीले व्यवासय क्षेत्रको वर्तमान समस्याका विषयमा सभामुखको ध्यानकर्षण गराएका हुन् ।

त्यस्तै, महासंघका केन्द्रीय सदस्य मनिषलाल प्रधानले निर्यातलगायत विभिन्न वस्तुगत क्षेत्रमा उद्यमी व्यवसायीले भोग्नु परेको कठिनाइका विषयमा अवगत गराएका थिए ।
नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्कीले नेपाली कुच्चो, अलैंची बङ्लादेशमा निर्यात गर्दा लाग्ने अधिक करको बारेमा सभामुखलाई अवगत गराउँदै समस्या समाधानका लागि पहल गरिदिन आग्रहसमेत गरेका छन् ।
कार्यक्रममा नेपाल पेट्रोलियम डिलर्श एशोसिएसनका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरे, नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरी, सौर्य उत्पादक संघका निवर्तमान अध्यक्ष इन्द्र खनाल, फ«ेड एण्ड फरवार्डस्का अध्यक्ष मनोज अधिकारी, नेपाल महिला उद्यमी महासंघका बरिष्ठ उपाध्यक्ष शोमा ज्ञवालीलगायतले सहभागिता जनाएका थिए ।
सभामुख घिमिरेले नेपालका ठुला व्यावसायिक संस्थाले उठाएका सवालहरूलाई सम्बन्धित निकायहरूसँग समन्वय गर्ने र आफू उद्योगी व्यवसायीसँग बसेर छलफल गर्ने आश्वासन दिएका छन् । त्यस्तै व्यवसायीले सभामुखमा भर्खरै निर्वाचित घिमिरेलाई बधाईसमेत दिएका थिए ।