व्यापार प्रवर्द्धन गर्न बिर्तामोडमा औद्योगिक व्यापार महोत्सव


Bazar Dainik
17 January, 2023 3:26 pm

बिर्तामोड, माघ ३ । बिर्तामोड उद्योग वाणिज्य संघले व्यापार व्यवसायलाई चलायमान बनाउने उद्देश्यले अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको आयोजना गर्ने भएको छ । महोत्सव फागुन ५ गतेदेखि १५ गतेसम्म आयोजना गर्न लागिएको बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९ का संयोजक राजु न्यौपानेले बताए ।

बिर्तामोड ‐२मा हुने उक्त महोत्सवमा ४५ करोड रुपैयाँको कारोवार गरिने लक्ष्य आयोजकको छ । महोत्सवमा नेपालसहित बंगलादेश, भारत तथा पाकिस्तानका व्यवसायी सहभागी गराउने आयोजकको लक्ष्य छ ।

महोत्सवमा २ सय ५० वटा स्टलहरु रहने संयोजक न्यौपानेले जानकारी दिए । दोस्रो र तेस्रो मुलुकसँगको निर्यात व्यापारलाई बढावा दिने, आन्तरिक व्यापारलाई चलायमान गराउने, आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने, सांस्कृतिक र ऐतिहासिक महत्वका स्थलहरुको प्रचारप्रसार गर्ने महोत्सवको उद्देश्य रहेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताए ।

महोत्सवमा अटोमोबाइल्स, बैंक तथा वित्तीय संस्था, मोबाइल, इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामग्री, औद्योगिक उपकरण, कृषि तथा जडीबुटी, पर्यटन, दैनिक उपभोग्य वस्तुहरु, जुत्ताचप्पल, हस्तकला तथा तयारी पोशाक आदि महोत्सवमा राखिने बिर्तामोड उद्योग वाणिज्य संघकी उपाध्यक्ष नैनकला भट्टराईले बजार दैनिकलाई जानकारी दिइन् ।

प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगीतिक क्षेत्र, बालउद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र गरी महोत्सव स्थललाई चार भागमा विभाजन गरिएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले जानकारी दिए ।

बिर्तामोड उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघ र प्रदेश १सँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागेको हो । संघले यसअघि २०७५ साल माघ ११देखि २३ गतेसम्म बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्