माघ १ देखि इलाम –काठमाडौं उडान, भाडा दर ७ हजार ७८५


Bazar Dainik
10 January, 2023 5:06 pm

झापा, पुस २६ । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा माघ १ गतेदेखि नेपाल वायु सेवा निगमले उडान गर्ने निश्चित भएको छ । साताको एकपटक काठमाडौं–इलाम–काठमाडौं उडान हुने भएको हो ।

इलामको पर्यटन प्रवर्द्धनका लागि निगमले तत्काललाई साताको एकपटक उडान गर्न लागेको इलाम नगरपालिकाले जनाएको छ ।

यात्रुका लागि टिकट बुकिङ खुला गरिएको छ । इलाम सिटीमार्टको पहिलो तलामा ख २३ नम्वरको सटरमा बिहान ११ बजेदेखि ३ बजेसम्म टिकट उपलब्ध हुने जनाइएको छ ।

१९ सिटे ट्वीनअटर विमानले यात्रुलाई गन्तव्यमा पुर्याउने छ । भाडा दर ७ हजार ७८५ राखिएको छ । निगमको इलाम स्टेसनका इन्चार्ज दिनेश सुन्दासका अनुसार उडानमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई टिकट शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

यसैगरी विद्यार्थी र दुईदेखि १२ वर्ष उमेरसम्मका यात्रुलाई २५ प्रतिशत छुट दिइने उनले बताए । टिकटका लागि इलाम स्टेसनको कार्यालयमा ९८५११४२४९७ वा ९८४१७०५००४ सँग सम्पर्क राख्न सकिने जनाइएको छ ।

यसैगरी काठमाडौं–इलाम वा इलाम–काठमाडौंका लागि हवाइ टिकट बुकिङमा सहयोग, सहजीकरण तथा सूचनाका लागि निगमको फोन नम्वर ०१४२२४४८६ र ०१४२२३४५३ र ०१४२४८६०४ तथा इलाम नगरपालिकाको नगर प्रहरी हेल्प डेस्कमा ०२७ ५२००३१ मा सम्पर्क गर्न सकिने नगरपालिकाले जनाएको छ ।

समग्र इलाम जिल्लाको पर्यटन प्रवर्द्धनका लागि फाल्गुनन्द सुकिलुम्वा विमानस्थल प्रयोग गर्न नगरपालिकाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्