प्रदेशले नागरिकले महसुस गर्न सक्ने गरी काम गर्छ ‐ मुख्यमन्त्री कार्की


Bazar Dainik
9 January, 2023 5:56 pm

विराटनगर, पुस २५ । प्रदेश ‐१ का मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सरकार जनताले महसुस गर्न सक्ने गरी काम गर्ने बताएका छन् । जनताले भेट्न, छुन र हेर्न सकिने संरचनाको रुपमा स्थापित हुने गरी आफूले काम गर्ने कार्कीले बताएका हुन् ।

पछिल्लो समय प्रदेश संरचनाप्रति जनतामा वितृष्ण बढ्दै गइरहेको समयमा नवनियुक्त मुख्यमन्त्री कार्कीको यस्तो भनाई आएको हो । सोमबार प्रदेश प्रमुखबाट मुख्यमन्त्री शपथ लिएपछि संचारकर्मीसँग सक्षिप्त कुराकानी गदै नवनियुक्त मुख्यमन्त्री कार्कीले भने, ‘प्रदेश संरचना जनताको प्रिय संरचना हो, आजैबाट जनताको छुन सकिने, भेट्न र देख्न सकिने सरकार हो भनेर मान्यता स्थापित गर्ने मेरो प्रयास हुनेछ ।’

उनले माओवादी पनि चाँडै सरकारमा सहभागी हुने विश्वास व्यक्त गरे । ‘उहाँहरु चाँडै सरकारमा सहभागी भएको तपाईंहरुले देख्नु हुनेछ’ , मुख्यमन्त्री कार्कीले थपे, ‘सरकार गठनको काम प्रारम्भ मात्र भएको छ, टुंगिएको छैन ।’

मुख्यमन्त्री कार्कीले प्रदेशको नामाकरणको विषय यो सरकारको उच्च पाथमिकतामा रहेकाले साझा सहमतिको साथ नाम छिटै टुंग्याउने प्रयास हुने बताए । मुख्यमन्त्री कार्कीले माओवादी सरकारमा सामेल नहुने भएपछि सत्ता साझेदार घटक राप्रपा र जसपाको साथ लिएर ३ सदस्य मन्त्रिमण्डल गठन गरेका छन् ।

एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाबाट निर्मला लिम्बु मन्त्री नियुक्त भएका छन् । बिना विभागीय मन्त्री बनेका उनीहरुले पनि मुख्यमन्त्री कार्कीसँगै शपथ लिएका छन् ।

प्रदेश १ सरकारमा नेकपा माओवादी केन्द्र भने सहभागी भएको छैन । उसले प्रदेश १ सरकारको नेतृत्व आलोपालो गर्ने गरी सहमति नभएसम्म आफूहरु सरकारमा नजाने बताएको छ ।

यसअघि मन्त्रालय भागबन्डा र मन्त्रीको छनौट गर्न केही समय लाग्ने भएकाले एमालेबाट २, माओवादीबाट १ र राप्रपाबाट १ जना मन्त्री बन्ने पक्कापकी भएको थियो । एमालेबाट मन्त्री बन्नेहरुमा ताप्लेजुङका तिलकुमार मेन्याङ्बो र सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी थिए । सरकारमा माओवादी समालेन नहुने जनाएपछि अन्तिम अवस्थामा आएर तिलकुमार मेन्याङ्बो, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भक्ति सिटौला र जनता समाजवादीबाट निर्मला लिम्बु मन्त्री बनेका हुन् ।

यसअघि माओवादी केन्द्रले दुर्गा प्रसाद चापागाईंको नेतृत्वमा सरकारमा जाने तयारी रहेको थियो । मुख्यमन्त्रीको शपथपछि स्थानीय संचारकर्मीसँगको कुराकानीमा माओवादी तत्काल सरकारमा नआने बताएपनि आफूले विश्वासको मत लिने समयसम्म गठबन्धन भित्रका सबै दल सरकारमा समाले हुने दाबी गरे ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिएपछि सरकारले पूर्णता पाउने पनि बताए । मुख्यमन्त्ती कार्कीको सपथ ग्रहण कार्यक्रममा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो बाहेका अन्य नेता तथा कार्याकर्ता अनुपस्थित रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्