एनआरएनए जापान र आइएचएनओको समन्वयमा ६० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति


Bazar Dainik
3 January, 2023 3:20 pm

जापान पुस १९ । गैरआवासीय नेपाली संघ (NRNA) जापानको समन्वयमा आईएचएनओ (IHNO) ले वितरण गर्ने छात्रवृत्तिको लागि आवेदन खुल्ला भएको छ ।

जापानमा रहेका नेपाली विद्यार्थीले छात्रावृत्तिका लागि आवेदन दिन सक्नेछन् । आवेदनबाट ६० जना विद्यार्थी छनौट गरी छात्रवृत्ति प्रदान गरिने गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष शिव प्रसाद पौडेलले बजार दैनिकलाई जानकारी दिए ।

उक्त छात्रवृत्तिको आवेदन जनावारी २७ सम्ममा (IHNO)को ठेगनामा पोष्ट गरिसक्नुपर्ने बताइएको छ । मापदण्ड अनुसार आवेदन प्रक्रिया पुरा भइ सकेपछि समितिले सिफारिस गर्ने र त्यस पछि IHNO बाट छनौट गरी छात्रवृत्ति उपलब्ध गराईने पौडेल बताउँछन् । “एनआरएनए जापानले सिफारिस गर्छ, छनौटको अन्तिम निर्णय आइएचएनओले गर्ने हो” पौडेलले बजार दैनिकसँग भने, “डिपेन्डेन भिसामा रहेर नियमित गाक्को जाने विद्यार्थीले पनि छात्रावृत्तिका लागि आवेदन दिन सक्नेछन् ।”

छात्रवृत्तिका लागि अध्ययन गर्दै गरेको विद्यालय/कलेजबाट सिफारिस लिनु पर्ने, फारम IHNO बाट उपलब्ध हुने, विद्यालय/कलेज परिवर्तन गर्न नयाँ विद्यालय/कलेजबाट सिफारिस लिनु पर्ने छ ।

कामको हकमा हप्तामा २८ घण्टाको आरुबाइतोको नियम पालना गर्नुपर्ने साथै बिदाको बेलामा हप्तामा ४० घण्टासम्म काम गर्न मिल्ने छ । तर प्रत्येक दिन ८ घण्टा भन्दा धेरै काम गर्न नपाउने लगायतका मापदण्ड रहेका छन् । छात्रावृत्ति पाएको हकमा प्रत्येक महिना (IHNO) नियम अनुसार कामको विवरण तथा आफ्नो कामको जानकारी इमेल मार्फत पठाउनु पर्ने छ ।

आवेदन दिन रेसिडेन्ट कार्डको फोटोकपि, आवेदन फारम (विद्यालयले सिफारिस गर्ने फारम सहित २ पेज ), बैंक खाता नम्बर र खातावालको प्रष्ट नाम भएको पासबुक फोटोकपी, जापानी भाषामा चार सयदेखि आठ सय शब्द सम्मको हस्त लिखित निबन्ध (अध्ययनको लागि किन जापान रोज्नु भयो ? ) र जापानमा प्राप्त आफ्ना सर्टिफिकेट (JLPT) कागजात पेश गर्नु पर्ने नियम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्