धान उत्पादनमा वृद्धि भएपनि देश आत्मानिर्भर भने बन्न सकेन


Bazar Dainik
2 January, 2023 8:02 pm

झापा, पुस १८ । अघिल्लो वर्षको तुलनामा धान उत्पादनमा वृद्धि भए पनि मुलुकको राष्ट्रिय आवश्यकता धान्न अझै करिब चार लाख ८० हजार मेट्रिक टन चामल कमी हुने देखिएको छ । नेपालमा चामलको राष्ट्रिय आवश्यकता करिब ४० लाख मे.टन रहेकामा ३५ लाख २० हजार मे.टन आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमान छ ।

पछिल्लो वर्षमा धानको समग्र राष्ट्रिय उत्पादन बढेको तथा चामलको आयात घटको अवस्थामा पनि उक्त परिमाणको चामल कमी हुने देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

चामलको उपभोग करिब एक सय २१ केजीप्रति व्यक्ति प्रतिवर्ष हुने देखिन्छ । यस हिसाबले चामलको आवश्यकता करिब ४० लाख मे।टन चामल रहने देखिन्छ ।

अघिल्ला आर्थिक वर्षको तुलनामा आव २०७८/८९ मा धान/चामल/कनिकाको आयात भने करिब रु चार अर्ब अर्थात् ६.३ प्रतिशतले घटेको थियो । आव २०७८÷७९ को पाँच महिनाअर्थात् मंसिरसम्मको तुलनामा ३८.२ प्रतिशतले कमी आएको आँकडाले देखाएको छ ।

यसैबीच, मन्त्रालयको तथ्याङ्कअनुसार, मुलुकमा चैते र वर्षे गरी १४ लाख ४७ हजार सात सय ८९ हेक्टर क्षेत्रफलमा धान लगाउने गरिएको छ । धान नेपालको प्रमुख खाद्यन्न बाली हो । हाल धानको समग्र राष्ट्रिय उत्पादन ५४ लाख ८६ हजार चार सय ७२ मे।टन र उत्पादकत्व ३.७९ मे.टन प्रतिहेक्टर रहेको मन्त्रालयको प्रारम्भिक अनुमान छ ।

गत आर्थिक वर्ष २०७८÷७९ को तुलनामा यस आवमा धानको समग्र क्षेत्रफलमा दुई प्रतिशतले कमी आएको देखिएको छ भने उत्पादनमा ६.९४ प्रतिशतको वृद्धि भएको छ । समग्र नेपालको, प्रदेशगत र जिल्लागत चैते धान र वर्षे सिजनको धानको क्षेत्रफल, उत्पादन र उत्पादकत्वको गरिएको विवरण सार्वजनिकमा उक्त तथ्याङ्क देखाइएको छ । नेपालमा धानका अत्यन्त लोकप्रिय जात हर्दिनाथ, खुमल, राधा, स्वर्ण सव हुन् ।

धानमा आत्मनिर्भरताका लागि सरकारले स्थानीय तह र प्रदेशको समन्वयमा मन्त्रालयले उत्पादन प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । मसिना तथा वासनादार, चैते र जातीय धान विकास अनुसन्धान कार्यक्रम तथा न्यूनतम समर्थन मूल्य तोकी खरिद गर्ने व्यवस्थालाई प्रभावकारीरुपमा अघि बढाइएको मन्त्रालयको दाबी छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट सहकारीमार्फत तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिदको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्