जापानस्थित नेपाली विद्यालय एभरेष्ट इन्टरनेशनलले मनायो दशौँ सांस्कृतिक दिवस
टोकियो, पुस १३ । जापान टोकियोमा अवस्थित एभरेष्ट इन्टरनेशनल स्कुल (नेपाली विद्यालय)ले दशौं सांस्कृतिक दिवस मनाएको छ । सांस्कृतिक कार्यक्रमका बीच एभरेष्टले आफ्नो दशौं सांस्कृतिक दिवस मनाएको हो ।
नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन हुँदै आएको एभरेष्ट स्कुलले कार्यक्रमको अवसरमा नेपालको संस्कार र विभिन्न जातजातीको नृत्य र गीतसहित जापानको संस्कृतिलाई समेत प्रस्तुत गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले प्रवास जापानमा अवस्थित यस विद्यालयले नेपाली भाषा र संस्कृतिको जगेर्ना गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताए । राजदूत सुवेदीले जापानमा नेपाली बालबालिकाहरुको शैक्षिक विकासमा स्कुलले खेलेको भूमिकाको प्रसंसासमेत गरे । विद्यालयको स्तरोन्नतिका लागि नेपाली राजदूतावासको संधै सहकार्य रहने विचार ब्यक्त गरे ।
त्यसैगरी गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष शिवप्रसाद पौडेलले जापानको नेपाली नयाँ पुस्तामा सांस्कृतिक मूल्यमान्यता नेपाली जापानी संस्कार आदनप्रदान गर्दै अध्ययन–अध्यापन सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सुगिनामी वार्डका गभर्नर वातानाबे फुजियो, टोकियो मेट्रोपोलिटन गभर्मेन्ट अन्तर्राष्ट्रिय समुदाय, नागरिक सुरक्षा प्रबर्द्धन विभागका निर्देशक हिरोकाता मियुरा, शिक्षक–अभिभावक संघका सदस्य सञ्जिव पोखरेल, एनआरएनए आइसीसी उप–महासचिव ओम गुरुङ, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष शान्त पहरी, अन्तराष्ट्रिय नेपाली साहित्य समाज, जापानका अध्यक्ष रविन शर्मा लगाएतको उपस्थिति थियो ।

नेपाल सरकार, क्याम्ब्रिज विश्वविद्यालय र जापानी सरकारबाट मान्यता प्राप्त पहिलो विद्यालयको रुपमा रहेको स्कुलको समारोहमा विद्यालयका प्रिन्सिपल विष्णुप्रसाद भट्टले स्वागत गरेका थिए ।
एभरेष्ट इन्टरनेशनल स्कुल जापानका सञ्चालक समितिका अध्यक्ष भवन भट्टले भर्च्युअल माध्यमबाट समापन मन्तब्य राख्दै कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।