चर्को ब्याजदर बिरुद्ध बिहीबारदेखि विराटनगरका व्यवसायी हड्तालमा उत्रिने


Bazar Dainik
21 December, 2022 8:46 pm

विराटनगर, पुस ६ । चर्को ब्याजदर र प्रतिकूल बैकिङ नीतिविरुद्ध आन्दोलन घोषणा गर्दै विराटनगरका उद्योगी व्यवसायीले बिहीबारदेखि बन्द हड्तालमै उत्रिने योजना सार्वजनिक गरेका छन् ।

उद्योगी व्यवसायीहरूले सरकार र नेपाल राष्ट्र बैंकले आफूहरूलाई विस्थापनमै पार्ने नियत राखेर चर्को ब्याजदर लादेको भन्दै आन्दोलनमा जानुपर्ने बाध्यता सिर्जना भएको बताएका छन् । बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरूले आन्दोलन घोषणा गरेका हुन् ।

उद्योगी व्यवसायीहरूका दुई दर्जनभन्दा बढी संघ संस्थाहरूले बिहीबारदेखि राष्ट्र बैंकको विराटनगरस्थित कार्यालयमा धर्ना दिने, बिहीबार एक दिन बजार बन्द गर्ने लगायतका घोषणा गरेका छन् ।

‘आन्दोलन निष्कर्षमा नपुगेसम्म हामी पछि हट्ने छैनौं,’ उनीहरूले भनेका छन्, ‘आन्दोलनलाई देशव्यापी बनाउनेछौं ।’ उद्योगी व्यवसायीहरूले पाँच सुत्रीय माग अघि सारेका छन् ।

चालु पुँजी कर्जा निर्देशिका खारेज गर्नुपर्ने उनीहरूको पहिलो माग छ । चालु पुँजी कर्जा २५ प्रतिशतमा सीमित राख्ने निर्देशिकाले आफूहरू मारमा परेको उद्योगीको भनाइ छ ।

एकल अंकको ब्याजदर कायम गर्नुपर्ने उनीहरूको अर्को माग छ । अहिले ब्याजदर १६ प्रतिशतसम्म पुगेको उनीहरूको भनाइ छ । स्प्रेड दर र संस्थागत ब्याजदर २ –२ प्रतिशत कायम गर्नुपर्ने तथा बैंकर र व्यवसायीलाई अलग गर्नुपर्ने माग पनि उनीहरूको छ ।

नेपाल उद्योग परिसंघ, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघ लगायतका दुई दर्जनभन्दा बढी संघ संस्थाले बिहीबारदेखि सडकमा ओर्लने तयारी गरेका हुन् ।

‘बन्द हड्तालमा उत्रनु हाम्रो रहर होइन, बाध्यता भयो,’ परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले भने, ‘हाम्रो आवाज सम्बोधन नभएपछि सडकमा जानुपर्ने बाध्यता आइपर्यो। हामी माग पूरा नभएसम्म आन्दोलन जारी राख्नेछौँ ।’

प्रतिक्रिया दिनुहोस्