छलफलमा जुट्यो सत्ता गठबन्धन, नयाँ सरकार गठनबारे पनि छलफल हुने


Bazar Dainik
5 December, 2022 5:19 pm

झापा, मंसिर १९ । सत्ता गठबन्धनमा रहेका चार दलका शीर्ष नेताहरू बालुवाटारमा छलफलमा जुटेका छन् । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल चुनाव पछि पहिलो पटक सामूहिक छलफलमा जुटेका छन् ।

छलफलमा कांग्रेसका नेताहरू रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का कृष्णप्रसाद सिटौला, सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की पनि सहभागी छन् । यस्तै माओवादीका नेता नारायणकाजी श्रेष्ठ, देवप्रसाद गुरूङ पनि सहभागी छन् । एकीकृत समाजवादीका बेदुराम भुसाललगायत नेता पनि छलफलमा सहभागी छन् ।

लोसपासहित गठबन्धन गरेर मंसिर ४ को चुनावमा सत्ता गठबन्धनका दलहरू होमिएका थिए । प्रत्यक्षतर्फ प्रतिनिधि सभामा कांग्रेसले ५७, माओवादीले १८, एकीकृत समाजवादीले १०, लोसपाले ४ र राष्ट्रिय जनमोर्चाले १ क्षेत्र जितेका थिए ।

सत्ता गठबन्धनका शीर्ष नेताहरू साँढे ३ बजेदेखि बालुवाटारमा छलफलमा जुटेका छन् । प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले दिएको जानकारीअनुसार चुनावी समीक्षा र नयाँ सरकार गठनबारे आज सामान्य रूपमा छलफल हुनेछ ।

कांग्रेसले आफ्नै नेतृत्वमा सत्ता गठबन्धनमा रहेका दलहरूलाई साथै लिएर अन्य दलको सहयोग जुटाएर नयाँ सरकार बनाउन पहल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्