दुई महामन्त्री बीच भेट, संसदीय दलको तयारी बारे छलफल


Bazar Dainik
29 November, 2022 6:58 pm

झापा, मंसिर १३ । नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माबीच संसदीय दलको चुनावबारे छलफल भएको छ । प्रतिनिधि सभाको चुनावमा झापा क्षेत्र नम्बर १ बाट निर्वाचित शर्मा काठमाडौं ४ बाट निर्वाचित थापालाई भेट्न मंगलबार झापाबाट अपरान्ह ४ बजेको फ्लाइटमा काठमाडौं आएका हुन् ।

थापा निवासमा मंगलबार साझ दुई नेताबीच झण्डै दुई घण्टा छलफल भएको हो । थापासँग भेट्नकै लागि शर्मा मंगलबार अपरान्ह झापाबाट काठमाडौं आएका थिए । उनी सिधै थापा निवास ज्ञानेश्वर पुगेका थिए ।

महामन्त्री शर्मा बुधबार बिहानै झापा फर्किने उनीनिकट एक नेताले जानकारी दिए । ‘दुई महामन्त्रीबीच आज गगन थापा निवासमा छलफल भएको हो,’ ती नेताले भने, चुनावी नतिजा र संसदीय दलको नेता चयनका विषयमा छलफल भएको छ ।’

महामन्त्री गगन थापाले संसदीय दलको चुनाव लड्ने घोषणा गरिसकेका छन् । उनलाई महामन्त्री शर्माले प्रधानमन्त्री बनाउन सहयोग गर्ने र प्रधानमन्त्रीको प्रस्ताव गर्ने बताइसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्