चार महिनाको अवधिमा पौने ५ खर्बको व्यापारघाटा


Bazar Dainik
25 November, 2022 7:24 pm

काठमाडौँ, मंसिर ९ । नेपालले चालु आर्थिक वर्षको चार महिनाको अवधिमा पौने ५ खर्बको व्यापारघाटा व्यहोरेको छ । नेपालले साउनदेखि कात्तिक मसान्तसम्ममा ४ खर्ब ७७ अर्ब ९१ करोड ७० लाख ६५ हजार रुपैयाँ व्यापाघाटा व्यहोरेको भन्सार विभागको तथ्याङ्क छ ।

विभागअनुसार गत वर्षको सोही अवधिमा नेपालले ५ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ व्यापारघाटा व्यहोरेको थियो । यो वर्ष गत वर्षको तुलनामा १५.८८ प्रतिशतले व्यापारघाटा कम भएको छ ।

त्यस्तै, नेपालले चार महिनाको अवधिमा ५ खर्ब ३२ अर्ब ६९ करोड १३ लाख १ हजार रुपैयाँको वस्तु आयात गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले ६ खर्ब ५० अर्ब २९ करोड ४३ लाख रुपैयाँको वस्तु आयात गरेको थियो ।

सरकारले उच्च आयातका कारण तरलता अभाव भएको भन्दै विभिन्न वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । जसले गर्दा यो वर्षको चार महिनाको अवधिमा गत वर्षको तुलनामा १८.० प्रतिशतले कमी आएको विभागले जनाएको छ ।

त्यसैगरी, चार महिनाको अवधिमा ३३.३० प्रतिशतले निर्यातमा कमी आएको छ । भन्सार विभागको तथ्याङ्अनुसार चार महिनाको अवधिमा ५४ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ मूल्य बराबरको वस्तु निर्यात गरेको छ ।

गत वर्षको सोही अवधिमा नेपालले ८२ अर्ब १२ करोड ४२ लाख ९५ हजार मूल्य बराबरको वस्तु निर्यात गरेको थियो । नेपालले चार महिनामा ५ खर्ब ८७ अर्ब ४६ करोड ५६ लाख ९७ हजार रुपैयाँको वैदेशिक व्यापार गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले ७ खर्ब ३२ अर्ब ४१ करोड ८६ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो ।

चार महिनाको अवधिमा सरकारले १ खर्ब २६ अर्ब ६२ करोड २२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्