झापा –१मा फराकिलो मतान्तरसहित प्रखर नेता शर्मा विजयी


Bazar Dainik
23 November, 2022 6:40 pm

झापा, मंसिर ७ । झापा क्षेत्र नम्बर –१बाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा प्रतिनिधिसभा सदस्ययमा विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका थायी कमिटी सदस्य अग्नि खरेलललाई फराकिलो मतान्तरले पराजित गर्दै शर्मा विजयी भएका हुन् ।

शर्मा ३९ हजार ६२४ मतका साथ निर्वाचित हुँदा खरेलले २५ हजार ३४९ मत मात्र पाए । विद्यार्थी राजनीतिबाट आएका शर्मा २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पहिलो संसदीय प्रतिस्पर्धामा उत्रिएका थिए । झापा–१ मा एमालेका रविन कोइरालासँग उनी ६०० मत अन्तरले पराजित भए ।

नेता विश्वप्रकाश शर्मा । तस्बिर : बजार दैनिक ।

निर्वाचनमा पराजित भएपनि उनले झापा केन्द्रित गतिविधि गरिरहे । २०७४ सालको निर्वाचनमा फेरि उम्मेदवार भए, तर वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता राम कार्कीसँग पराजित भए ।

शर्माको राजनीतिक यात्रा
मेचीनगर नगरपालिकाको धुलाबारी घर भएका विश्वप्रकाश राजनीतिक पृष्ठभूमिको परिवारमा जन्मे हुर्केका व्यक्ति हुन् । उनका बुबा परशुराम भण्डारी पनि कांग्रेस नेता थिए ।

पञ्चायत कालमा पार्टी भूमिगत भएका बेला भण्डारी नेपाली कांग्रेस झापा जिल्ला समितिका सदस्य थिए । धुलाबारी माविमा कक्षा ८ मा पढ्दा नेविसंघको इकाइ सभापति भए । राजनीतिमा शर्माको औपचारिक प्रवेश त्यहीँबाट भयो ।

२०४३ मा झापाको मेची क्याम्पसमा नेविसंघको सभापति बने भने २०४७ सालमा जिल्ला सभापति भए । त्यसको एक वर्षमा नेविसंघको केन्द्रीय सदस्यमा चुनिएका उनी २०५३ सालमा महामन्त्री र चार वर्षपछि सभापति बने । नेविसंंघमा दुई वर्षे कार्यकाल सकिनु एक साताअघि निर्वाचन गराएर गुरु घिमिरेलाई पद हस्तान्तरण गरे ।

२०६७ सालमा भएको कांग्रेसको १२ औं महाधिवेशनका क्रममा उनी पार्टीको झापा जिल्ला सभापतिको उम्मेदवार बने । तर झापाकै अर्का नेता कृष्ण सिटौला पक्षका उम्मेदवार उद्धव थापासँग झिनो अन्तरले पराजित भए । जिल्लामा पराजित भएका बेला शर्माले केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेनन् भने १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिए ।

२०७४ को आम चुनावमा कांग्रेसले नराम्रो हार व्यहोरेपछि धनराज गुरुङ, गुरुराज घिमिरे, विश्वप्रकाश शर्मा, गगन थापा, प्रदीप पौडेल लगायतका युवाहरुले नेतृत्व परिर्वतनको एजेण्डा उठाए । त्यसको काउन्टरमा सभापति देउवाले पुस २०७४ मा विश्वप्रकाशलाई पार्टी प्रवक्ता बनाए ।

शर्मा गत वर्ष पुसमा सम्पन्न नेपाली कांग्रेको १४ औँ महाधिवेशनमा लोकप्रिय मतका साथ महामन्त्रीमा विजयी बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्