राजनीति बाहेकका विश्वप्रकाश शर्मा : खाल्डोमा उभिएर पनि अग्लो देखिने व्यक्तित्व


मनिषा चम्लागाईं
14 November, 2022 10:46 pm

झापा, कात्तिक २९ । ‘म जनताको नेता बन्न चाहान्छु ।’

कांग्रेस नेता विश्वप्रकाश शर्माको यो भनाईबाट उनको फराकिलो मानसिकतालाई देखाउँछ । आगामी मंसिर ४ मा हुने निर्वाचनमा झापा क्षेत्र नम्बर – १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका शर्मा पार्टी भित्रका व्यक्तिको मात्र होइन सबैबाट विचार ग्रहण गर्न सक्ने क्षमता राख्छन् ।

उनको भाषण कला, जोस र उमंग पनि चर्चा गर्न लायक छ । पछिल्लो पुस्ता नेताको भाषणा सुन्न नाक खुम्च्याउँछन् । आदर्शका कुरा गर्ने नेताले भाषणलाई व्यवहारमा नल्याउँदा युवा पुस्तामा वितृष्णा जागेको देखिन्छ । तर, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा भाषणका लागि स्टेज पुगेपछि के बोल्छन् भनेर सबैको ध्यान उनीतिरै तानिन्छ । प्रखर वक्ता शर्माको तार्किक शैली धेरैले मन पराउँछन् ।

राजनीतिमा लागेका केही खराब पात्र र तिनका प्रवृत्तिले निराशा पैदा गरेको समयमा उत्साह थप्ने एक नाम हो विश्वप्रकाश शर्मा । धाराप्रवाह बोल्नसक्ने, शालीन र सहयोगी मन भएका कांग्रेस नेता शर्माले अहिलेसम्म संसद प्रवेशको अवसर भने पाएका छैनन् । शर्मा राजनीतिक क्षेत्रमा मात्र होइन सामाजिक क्षेत्रमा काम गरेकै कारण पनि बेलाबखत चर्चामा आइरहन्छन् । दुरदृष्टी राख्ने शर्मा अध्यनशिल व्यक्तिसमेत हुन् ।

धेरैलाई थाहा नहुन सक्छ, बिनम्र नेता शर्मा निकै संघर्षशील व्यक्ति हुन् । लेखक डा. नवराज लम्सालको शब्दमा भन्नुपर्दा विश्वप्रकाश ‘खाल्डोमा उभिएर पनि अग्लो देखिने मान्छे’ हुन् । यो आलेखमा बजार दैनिकले उनै शर्माको राजनीति बाहिरको फरक पाटो खोताल्ने प्रयास गरेको छ ।

भूकम्प पछि जन्मिएको मेची अभियान

विश्वप्रकाश कहिलेकाँही फरक शैलीमा पनि देखिन्छन् । अलग विचार नै उनको राजनीतिक उचाईको दरिलो स्तम्भ हो । वि.सं २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पपश्चात कांग्रेसले आफ्नो ज्ञदस्ता प्रभावित क्षेत्रमा घर बनाउन पठायो । एमालेले पनि पठायो । अरु दलले पनि भूकम्प प्रभावित क्षेत्रमा आफ्ना कार्यकर्ता झण्डा नै बोकाएर पठाएका थिए ।

तर, विश्वप्रकाशले झापामै घोषणा गरे, ‘हामी भूकम्पबाट भत्किएका घर बनाउन जाँदा पार्टीको झण्डा बोकेर जादैनौँ ।’ उनले कांग्रेससँगै एमाले, माओवादी, लिम्बुवान, राप्रपा र अरु दलका कार्यकर्तालाई मिलाएर जाने अवधारणा बनाए ।

२०७२ सालको भुकम्पपछि पीडितको टहरा निर्माणमा खटिएका शर्मा ।

कांग्रेसले मात्रै राजनीतिक रुपले काम गर्दा सबै पक्षलाई समेट्न गाह्रो हुन्थ्यो । उनले आग्रह गरे, कांग्रेसकै महाधिवेशन प्रतिनिधि विजय डालमियालाई । उनी मेची उद्योग वाण्ज्यि संघका अध्यक्ष थिए । डालमियाको संयोजन र विश्वप्रकाशको अवधारणा बमोजिम नै ‘मेची अभियान’को टोली एक सातापछि चामल, दाल, टेण्ट लगायतका सामग्रीसहित भूकम्पबाट अति प्रभावित धादिङ, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे र रसुवामा ८ ट्रक राहत सामग्रीसहित पुग्यो ।

कोही टेण्ट बोकेर, कोही पाल बोकेर र कोही खाद्यान्न बोकेर भूकम्प प्रभावित क्षेत्रमा पुगेका थिए । र, अरु जिल्लाबाट दलका नेता–कार्यकर्ता आ–आफ्नै तरिकाले गएका थिए । तर, विश्वप्रकाशको टिमको दृश्य अलि फरक थियो ।

डालमियाको संयोजकत्वमा रहेको उक्त समूहले सबै दल मिलेर गैरराजनीतिक रुपमा सहयोग जुटाउन थाल्यो । जसको नाम थियो, मेची अभियान । भूकम्प प्रभाावित क्षेत्रमा मेची अभियानको कार्यशैली अरुकोभन्दा फरक थियो । किनभने अन्य समूहमा आ–आफ्नै पार्टीका नेता–कार्यकर्ता थिए । मेची अभियानमा सिंगो पूर्वले प्राकृतिक विपत्तिमा एकता र भ्रातृत्वको सन्देश दिएको थियो । उनै शर्माको परिकल्पनामा सुरु भएको मेची अभियान आज पर्यान्त सामाजिक कार्यमा सक्रिय छ ।

दृष्टिविहीन दाजुभाई र मर्डीले पाए घर

झापा जिल्लाको गौरादह एमाले अध्यक्ष केपी ओलीले विगतमा पटक–पटक चुनाव जितेको ठाउँ मध्येको एक हो । त्यही गौरादहमा राम र लक्ष्मण नाम गरेका दुई युवा बस्छन् । आँखाको ज्योति गुमाएका ती दुई युवाले संसारलाई देखे । सायद संसारले उनीहरुलाई देखेन ।

संयोगवशः एकदिन विश्वप्रकाशले जब राम र लक्ष्मणलाई भेटे, उनले नेपाली कांग्रेसका स्थानीय नेता पुण्य सिग्देललाई सहयोगका लागि आग्रह गरे । विश्वप्रकाशको आग्रहमा सिग्देलले राम र लक्ष्मणका लागि ८ धुर जग्गा दिने भए ।

सोही जमीनमा उभिएर विश्वप्रकाशले कांग्रेस गाउँँ सभापति हेमन्त कार्कीलाई ३ हजार रुपैयाँ दिँदै भने, ‘व्यापारीसँग नमाग्नु, स्थानीय नेता–कार्यकर्ता मिलेर एक लाख रुपैयाँ बराबरको घर बनाई दिनुपर्छ । र, २०७१ सालको नयाँ वर्ष लाग्दै गर्दा राम र लक्ष्मणले नयाँ घर पाउनु पर्छ ।’

नयाँ वर्षका दिन ‘ह्याप्पी न्यू इयर’ भन्दै उनीहरुले आफ्नै घरमा ब्यूझिँन पाउन् भन्ने शर्माको योजना थियो । सोही योजना अनुरुप दृष्टिविहीन राम र लक्ष्मणले आफ्नो घर पाए । २०७० सालको चैत्र मसान्तमा निर्माण सम्पन्न भएपछि विश्वप्रकाश र कांग्रेस झापा सभापति उद्धव थापाले घर हस्तान्तरण गरे । २०७१ सालको पहिलो बिहानी राम र लक्ष्मणका लागि सुनौलो बिहानी भयो । उनीहरु आफ्नै घरमा ब्यूझिँए, ह्याप्पी न्यू इयर भन्दै । दुई कोठे सिमेन्टेड घरमा अहिले पनि ती दाजुभाई खुशीसाथ बस्छन् ।

त्यस्तै, अर्को उदाहरणका रुपमा मेचीनगर नगरपालिका–७ का राजन गिरीको परिवारलाई पनि लिन सकिन्छ । घरमा आगलागी भएर एकैछिनमा उनको परिवार छानोविहीन भयो । गिरीको घर जलेको भोलिपल्टै नेपाली कांग्रेसका नेता कार्यकर्ता एकाबिहानै उनका घरमा पुगे, एक लाखभन्दा धेरैको राहत सामग्री बोकेर ।

उनीहरुमध्ये कसैले खन्न थाले, कसैले टिन ठोक्न र बाराबेरा गर्न थाले । कसैले बाँसको जोहो गरे । सबैजना एकसाथ काममा जुटे । र, बिहान ६ बजे शुरु गरेको घर निर्माण कार्य साँझ ९ बजे सम्पन्न गरे । र, गिरी परिवारलाई घर मात्रै दिएनन्, खाट, दराज, चामल, दाल, लुगाकपडा लगायत सबै सामग्रीको जोहो पनि गरिदिए । र, विश्वप्रकाशको नेतृत्वमा रहेको टोली राति १० बजेतिर काम सकेर फर्कियो ।

त्यति बेला उनले कही कसैलाई भनेनन्। प्रचारबाजी गरेनन् । तर, झापाबाट प्रकाशित हुने अखबारमा भोलिपल्ट प्राथमिकताका साथ उक्त समाचार प्रकाशित भयो । पछाडि चर्चा चल्यो, एमाले कार्यकर्ताको घर कांग्रेस युवा नेता विश्वप्रकाश शर्माको अगुवाईमा बनाइयो भन्ने । गिरी एमाले कार्यकर्ता रहेछन् । तर, विपत्तिमा परेका बेला गिरीको छानो टाल्ने काम विश्वप्रकाश शर्माले नै गरे ।

आगलागीबाट घर जलेर नष्ट भएकी एकल श्रमिक महिला मर्डी । तस्बिर : बजार दैनिक ।

गत वर्षको माघमा झापा झापाको मेचीनगर नगरपालिका– १४ की लख्खि मर्डीको घर आगलागीबाट जलेर नष्ट भयो । घर जलेर बिचल्लीमा परेकी मर्डीलाई घर बनाउन विश्वप्रकाश शर्मा होमिए ।

विगत १० वर्ष अघि श्रीमान्ले छोडेपछि दुई छोराको पालनपोषण गर्दै आएकी मर्डीको आगलागीले घरसँगै अन्नपातसमेत जलेको थियो । मर्डी स्थानीय चिया वगानमा मजदुरी गर्दै आएकी छन् ।

मजदुरी गरी जिविकोपार्जन गर्दै आएकी उनी घर विहीन बनेसँगै फागुनमा मेची अभियानका परिकल्पनाकार शर्माले शिलान्यास गरे र मेची अभियानलाई घर निर्माणको जिम्मा दिए । मर्डीको घर निर्माणमा शर्माले ११ हजार रुपैयाँ आर्थिक सहयोग र झापा पुगेर श्रमदानसमेत गरे ।

घर जलेसँगै मर्डी भाटाले बारेर बनाएको भान्सा घरमा बस्दै आएकी थिइन् । अभियानले घर निर्माण गरी हस्तान्तरण गर्दा उनी भावविहोल बनेकी थिइन् ।

नेपालमै नौलो प्रयोगः स्वास्थ्य महोत्सव, विपन्नका लागि बरदान
विश्वप्रकाश शर्मा राजनीतिज्ञ मात्रै होइनन्, उनी सामाजिक अभियन्ता पनि हुन् । उनले नेपालमा पटक नौलो प्रयोग गरे, झापाको मेचीनगरमा । विश्वप्रकाशको अवधारणामा सम्पन्न प्रथम राष्ट्रिय स्वास्थ्य महोत्सव नेपाली चिकित्सा सेवाका लागि पृथक प्रयोगको अनुपम उदाहरण थियो ।

झापाको मेचीनगरमा आयोजित स्वास्थ्य महोत्सवमा महिलाको स्वास्थ्य परीक्षण गर्दै चिकित्सक । तस्बिरः सामाजिक सञ्जाल ।

जहाँ २७ वटा अस्पतालका २ सयभन्दा धेरै डाक्टरहरुलाई एकै ठाँउमा भेला गराइयो । दलगत रुपमा नभई, पार्टीको झण्डा नफहराई स्वतन्त्र रुपमा महोत्सवको आयोजना गरिएको थियो । जसको नेतृत्व नेपाली कांग्रेसले गरेको थियो । महोत्सवमा झण्डै २४ हजार सर्वसाधारणको उपचार गरिएको थियो ।

६ वटा ल्याव निःशुल्क सञ्चालन गरिएको थियो । इको कार्डियोग्राम, इसिजी, अल्ट्रासाउण्ड जस्ता अत्याधुनिक मेसिनको प्रयोग पनि गरिएको थियो । पुर्जी पनि निःशुल्क थियो । यसरी सात दिन स्वास्थ्य महोत्सव गरिरहँदा उपचार मात्रै गरिएन, निःशुल्क औषधि मात्रै वितरण गरिएन, विभिन्न स्वास्थ्य समस्याका विषयमा अन्तरक्रिया पनि गरियो ।

झापाको मेचीनगरमा आयोजित स्वास्थ्य महोत्सवमा स्वास्थ्य परीक्षण गर्दै एक वृद्ध । तस्बिरः सामाजिक सञ्जाल ।

‘लागूपदार्थको दुर्व्यसनीमुक्त क्षेत्र कसरी निर्माण गर्न सकिन्छ’ भन्ने विषयमा पनि छलफल गरिएको थियो । स्वास्थ्य जीवनका लागि स्वस्थ तरकारी, स्वस्थ समाजका लागि स्वस्थ राजनीति’, स्वस्थ समाजका लागि स्वस्थ साहित्य लगायतका थुप्रै विषयहरुमा विज्ञहरुसँग छलफल गरिएको थियो । ‘स्वास्थ जीवनका लागि स्वस्थ तरकारी’का बारेमा छलफल गर्दा कृषिमा आधुनिक प्रणालीको विषयमा समेत छलफल गरिएको थियो ।

संगीत र साहित्यप्रति शर्माको मोह
विश्वप्रकाश बहुआयामिक राजनीतिज्ञ हुन् । उनी गीतसंगीतको रचना पनि गर्छन् । विश्वप्रकाशको सम्बोधनमा जुन श्रृतिमधुरता पाइन्छ, उनी उत्तिकै जादुमयी गीतसंगीत सिर्जना गर्छन् । फुर्सदको समयलाई कसरी सदुपयोग गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘म त्यतिकै धुन गुन्गुनाएर बसिरहन्छु । संगीत साधनामै समय लगाउँछु ।’

विश्वप्रकाशले लेखेका र संगीत गरेका गीतहरु अञ्जु पन्त, राजेशपायल राई, प्रमोद खरेल, आनन्द कार्की, सुकमित गुरुङ लगायतका गायकले गाएका छन् । नेपालमा आयोजना हुने जेसीजका कार्यक्रममा बजाइने जेसीजको शीर्ष गीतको शब्द र संगीत विश्वप्रकाशकै हो ।

विश्वप्रकाश शर्माले संगीत सिर्जना गरेको गीत ।

मुलुकका मुख्य अखबारहरुमा नियमित स्तम्भ लेख्ने विश्वप्रकाशका कथा, कविता र निबन्ध संग्रह प्रकाशोन्मुख छन् ।
जिल्लामै बसेर जनताको सेवा

नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माको राजनीतिक यात्रा छुट्टै छ । नेपालका प्रायः सबै राजनीतिज्ञ राजधानीमै बस्छन् । नेपाल सरकारका पूर्वमन्त्री, पूर्वसचिव आदिको बसाई राजधानीमै केन्द्रित हुने गर्छ । निधन पनि काठमाडौंमै हुन्छ ।
हो, गाउँबाट काठमाडौं आएर बस्न सजिलो हुन्छ । तर, विश्वप्रकाश विगत एक दशकदेखि काठमाडौं छोडेर झापामै गएर बसेका छन् । त्यहीनेर भिँडेका छन्, त्यही बसेका छन् । हारे होलान् त्यही । अनि, जित्न चाहिँरहेका छन् त्यही । सेवा गरिरहेका छन् त्यही । र, मर्न चाहिँरहेका छन् त्यही ।

बाहुनडाँगीमा हात्ती आतंक नियन्त्रण गर्न पनि विश्वप्रकाश पुगेकै हुन्छन् । बाढीको वितण्डासँग जुध्न पनि उनी पुगेकै हुन्छन् । जहाँ–जहाँ समस्या पर्छ विश्वप्रकाश रचनात्मक समाधानका साथ पुग्छन् । विश्वप्रकाशले हात्ती आतंक नियन्त्रण गर्न निरन्तर पहल गरेका स्मरण गर्छन्, बाहुनडाँगीका स्थानीयबासी वीरबहादुर परियार ।

विश्वप्रकाशकै योगदानको प्रतिफल स्वरुप हात्तीको प्रताडनाबाट मुक्त भएको परियारले बताएका छन् । उनले भने, ‘विश्वप्रकाश शर्माले अघिल्लो पटक चुनाव हार्नु भयो, तर हात्ती नियन्त्रणका लागि पहल गरेर हाम्रो मन जित्नु भयो, यस पटक झापा क्षेत्र नम्बर एकबाट हामी विश्वप्रकाशलाई जिताएरै पठाउँछौँ ।’

बाहुनडाँगीबासीको आर्शिवाद र सद्भाव त छँदै छ, विश्वप्रकाशले गरेका काम र आगामी योजनाका कारण झापा क्षेत्र नम्बर–१ का बासिन्दाले उनलाई प्रनितिधिसभा सदस्यका लागि आफ्नो मत प्रदान गर्दै छन् । झापा क्षेत्र नम्बर–१ मा रिङरोडको परियोजना पनि उनले निर्माण गरेका छन् ।

ऐना कार्यक्रमले जगाएको आशा
वि.सं २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पपश्चात पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न जिल्लामा राहात सामग्री लिएर पुगेका शर्माले समाजको फरक ऐना देखेँ । भुकम्पपछिको विनाश त छदैँ छ तर समाजमा जातीय विभेद, महिला विरुद्धको विभेद, दाईजो प्रथा, वैदेशिक रोजगारीले निम्त्याएको असर, श्रमिकका पीडा, वृद्धवृद्धालाई गरिने विभेद, लागूऔषध दुव्र्यसनी जस्ता विषयले जरो गाडेको देख्दा उनको मनपनि चिसो पस्यो ।

यि समस्याको मुल कारक तत्व चेतनाको अभाव नै भएको निष्कर्ष शर्मा निकालका थिए । त्यही समयमा सञ्चारकर्मी आरके घितालले ऐना कार्यक्रम सञ्चालनको प्रस्ताव गरे । फलस्वरुप कमै मात्र राजनीतिक मुद्दा बन्ने गरेका यि समस्यालाई शर्माले ऐना कार्यक्रम मार्फत् उजागर गर्ने अवसर पाए । अझै भनौँ, राजनीतिक भन्दा समाजको फरक पाटो र आफ्नै अनुहार ऐनामा हेर्ने जमर्को शर्माले गरे । जसकारण समाजका विकृति केन्द्रिय वहसका विषय बन्नमा योगदान पुग्यो ।

राजनीति र पत्रकारीता सँगसँगै सुरु गरेका शर्मा २०५२ सालमा घटना र विचार साप्ताहिक पत्रिकाको सम्पादक बनेर पनि भूमिका निर्वाह गरेका थिए । समृद्ध समाजको परिकल्पना गर्दा राजनीतिसँगसँगै समाजको जिम्मेवारी पनि वहन गरेका छन् शर्माले । समाजका सामन्य विषय जुन हामीले दैनिक रुपमा देख्दै आएका तर, महसुस गर्न नसकेका कुरा ऐनाले उजागर गर्यो । जसको एक पाटो बने शर्मा ।

ऐना कार्यक्रम सकेपनि जिम्मेवारीबाट मुत्त नभएको उनी बताउँछन् । ऐना कार्यक्रमका मुद्धालाई जिवनपर्यन्त सामाजिक रुपान्तरण गर्न लागेको प्रतिक्रिया दिन्छन् शर्मा । राजनीतिले उठाउने विषय बाटोघाटो बन्यो, देश संघीयतामा गयो, रेल कुद्यो मात्र होइन देश बन्नका लागि त विकाससँगै सामाजिक रुपान्तरणको झण्डा पनि फरफराउनु पर्ने शर्माको धारणा छ ।

युवाका लागि आशा हुन् विश्वप्रकाश

विश्वप्रकाश निडर र स्पष्ट वक्ताका रुपमा चिनिएका नेता हुन् । उनी पार्टीभित्र भएका गलत निर्णय र गलत कदमलाई खुलेरै विरोध गर्छन् । संविधान निर्माणपछि बनेको सरकारका लागि सुशील कोइरालाले उम्मेद्वारी दिएपछि विश्वप्रकाशले सार्वजनिक रुपमै विरोध जनाएका थिए ।

‘अब संविधान लेख्न महत्वपूर्ण भूमिकामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको पालो हो,’ उनले भनेका थिए, सुशील कोइरालाले उम्मेदवार दिने होइन, बाटो खुल्ला गर्नुपर्छ ।’ विश्वप्रकाशले चितवनको भरतपुरमा निर्वाचनमा पुनः मतदानको विरोध गरे । मतगणना अगाडि बढाउन उनले माग गरेका थिए ।

जतिबेला भारतीय नाकाबन्दीका कारण मुलुक अस्तव्यस्त थियो, नेपाली कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरेन । तर, विश्वप्रकाशले नाकाबन्दीको सशक्त ढंगले विरोध गरे । त्यस्तै, मधेशमा चलेको आन्दोलनका दौरान विश्वप्रकाश ९ सदस्यीय टोली लिएर मधेशका आठ वटै जिल्लामा पुगे, जिल्लास्तरीय भेला गराए । विपी कोइराला र पुष्पलाल श्रेष्ठका शालिक भत्काइएका ठाउँहरुमा शालिक बनाउन लगाए । र, जलाइएका पार्टी कार्यालयहरुको पुनर्निर्माणमा जुट्न आग्रह गरे ।

‘विश्वप्रकाश शर्मा अरु राजनीतिक नेता कार्यकर्ताभन्दा फरक हुनु हुन्छ, नेपाली राजनीतिक आन्दोलनमा लामो समयदेखि योगदान दिँदै आउनु भएको छ,’ सामाजिक अभियन्ता एवम् लेखक निरज साम्पाङले भने, ‘झापा–१ बाट उहाँको विजयी सुनिश्चित गराउन हामी सबै युवा लागेका छौँ ।’

ध्यान केन्द्रलाई ८० लाख बराबरको जमीन

विश्वप्रकाश शर्मा देवताका रुपमा आफ्ना आमाबुवालाई मान्छन् । आमा स्व. साावित्री शर्मा र बुवा स्व. परशुराम शर्माको सम्झनामा ध्यान केन्द्र स्थापनाका लागि दाजुभाइ राज्यप्रकाश र विश्वप्रकाशले ८० लाख रुपैयाँ बराबरको ५ कठ्ठा जग्गा प्रदान गरेका छन् । ब्रम्हकुमारी राजयोग सेवाकेन्द्रले ध्यान केन्द्र सञ्चालन गर्ने छ । ‘ध्यान साधना मानव जीवनलाई सन्तुलिन बनाउने एक मात्र विधि हो,’ विश्वप्रकाशले भने, ‘त्यसैले हामीले मानवीय सेवामा इट्टा थप्ने प्रयास गरेका हौं ।’

तीन दिन पार्टीका लागि, चार दिन रोटीका लागि
नेपाली राजनीतिक आन्दोलनमा लामो समय खर्चिएकाहरु पनि भ्रष्टाचारको अभियोगमा जेल बसेका दृष्टान्तहरु छन् । काठमाडौंमा डेरामा बसेर पढ्ने विद्यार्थी नेतालाई आयस्रोत के हो भनेर सोध्दा भन्न सक्दैनन् । तर, नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा त्यस किसिमका प्रवृतिप्रति सचेत छन् ।

विश्वप्रकाशले अवधारणा नै बनाएका छन्, तीन दिन पार्टीका लागि, चार दिन रोटीका लागि । उनी भन्छन्, ‘पछि राजनीतिबाट बिदा लिँँदै गर्दा शीर झुकाउनु नपरोस् भनेर नै राजनीतिक दलका हरेक नेता–कार्यकर्तालाई उद्यमशील बनाउनु पर्छ भन्ने मेरो अवधारणा हो ।’

विश्वप्रकाश राजनीतिसँगै व्यवसायमा पनि सक्रिय रहन्छन् । झापाको मनकामना बहुमुखी क्याम्पसमा उनको शेयर छ । काठमाडौं नयाँ बानेश्वरस्थित अल्फबिटासँँगै गाँँसिएको बिल्डिङमा मेक माई ट्रिप ट्राभल्स सञ्चालनमा रहेको छ ।

बाढीपीडितलाई मल्हम
यो साल वर्षा शुरु हुनासाथ तराई–मधेशमा भीषण बाढी आयो । उद्दार र राहतका लागि विश्वप्रकाशको टिमले सक्रिय भूमिका निभाएको थियो । बाढीपीडितका लागि अधिकांशले चामल, दाल लिएर गए ।

तर, विश्वप्रकाशहरुले जाँदै गर्दा चामल, दाल, तरकारी, ब्ल्याङ्केट, पेस्ट, ब्रस मात्रै लगेनन्, मनोचिकित्सक पनि साथै लिएर गए । ‘तत्कालीन तनावबाट मुक्ति दिनुपर्छ भन्ने कुरालाई ध्यानमा राखेर डाक्टरसँगै औषधि पनि लगिएको हो,’ उनले भने, ‘केही ठाउँमा स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।’ (बजार दैनिकले शर्मासँगको कुराकानीमा तयार पारेको सागग्री )

प्रतिक्रिया दिनुहोस्