सरकारले तोक्यो धानको समर्थन मूल्य, खाद्यले ३२ हजार टन धान खरिद गर्ने
झापा, कात्तिक २६ । सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चालु आर्थिक वर्षका लागि धान खरिदको लक्ष्य निर्धारण गरेको छ । यसपटक ३२ हजार टन खरिद गर्ने भएको हो ।
बर्सेनि धान खरिद लक्ष्य निर्धारण गर्ने तर अपेक्षित परिमाणमा किन्न नपाउने कम्पनीले मंसिरदेखि बजारमा नयाँ धान आउन सुरु हुने समय मानेर खरिद लक्ष्य निर्धारण गर्छ । यतिबेला बजारमा नयाँ धान आउन थालिसकेको छ ।
कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले भने, ’यो वर्षका लागि कम्पनीले ५८ करोडभन्दा बढीको धान खरिद गर्ने निर्णय गरेको छ ।’
धान खरिदको परिमाण गतवर्ष भन्दा बढी निर्धारण गरिएको छ । अघिल्ला वर्ष पनि कम्पनीको लक्ष्य अनुसारको धान किन्न सकेको थिएन । गतवर्ष कम्पनीले ९५ करोड रुपैयाँको ३० हजार २ सय टन धान खरिद लक्ष्य राखेको थियो । त्यसमा करिब २० हजार टन धान खरिद गर्न सकेको कम्पनीले जनाएको छ ।
अहिले देशका विभिन्न जिल्लामा किसानलाई धान काट्ने र भित्र्याउने चटारो छ । सरकारले यसै सातामात्र धानको न्युनतम समर्थन मूल्य पनि तोकेको छ । यसका आधारमा मंसिरदेखि कम्पनीका विभिन्न कार्यालयहरुबाट धान खरिद सुरु हुने नायब महाप्रबन्धक खनालले बताए ।
सरकारले आर्थिक वर्ष २०७९/८० को लागि धानको समर्थन मूल्य बढाएर तोकेको छ । जसमा मोटा धान प्रति क्वीन्टल २९६७ रुपैयाँ र मध्यम धान प्रति क्वीन्टल ३१२८ रुपैयाँ छ । गतवर्षको तुलनामा मोटा धानको मूल्य प्रति क्वीन्टल २१५ रुपैयाँ र मध्यम प्रति क्वीन्टल २२६ रुपैयाँ बढेको हो ।
गत वर्ष मोटा धानको समर्थन मूल्य प्रति क्वीन्टल २७ सय ५२ रुपैयाँ र मध्यम २९०२ रुपैयाँ तोकिएको थियो । सरकारले तोकेको समर्थन मूल्यमा कम्पनीले किसानबाट धान खरिद गर्छ । व्यवसायीहरुले बढी मूल्य दिएपछि गतवर्ष किसानहरुले कम्पनीलाई धान बेचेका थिएनन् । जसले गर्दा लक्ष्य अनुसारको धान खरिद भएको थिएन । लक्ष्य अनुसारको खरिद नभएपछि कम्पनीले थप चामल खरिद गरेको थियो ।
कम्पनीले हरेक वर्ष विभिन्न जिल्लाहरुबाट रन्जित, सोना मन्सुली, बासमती, साँवा, गोरखनाथ, मोटा, मार्सी, मकवानपुर, कतर्नी लगायतका धान खरिद गर्ने गरेको छ ।