ब्याज वृद्धिविरुद्ध उद्योग वाणिज्य महासंघद्वारा आन्दोलनको घोषणा


Bazar Dainik
5 November, 2022 3:02 pm

झापा, कात्तिक १९ । बैंक तथा वित्तीय संस्थामा वृद्धि भइरहेको व्यावसायिक ऋणको ब्याजको विरोध गर्दै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश –१ले पहिलो चरणमा ४ दिने आन्दोलनको घोषणा गरेको छ ।

महासंघको प्रदेश १ का कार्यकारी निर्देशक राधारमण भण्डारीका अनुसार शुक्रबार भएको कार्यसमितिको विस्तृत बैठकले पहिलो चरणमा कात्तिक २२ देखि २८ सम्मका ४ दिन आन्दोलनमा उत्रने निर्णय गरेको हो ।

कार्यकारी निर्देशक भण्डारीले महासंघ प्रदेश १ ले आन्दोलनका कार्यक्रमसहितको पत्र सबै जिल्ला–नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ र एसोसिएट सदस्यलाई पठाइसकेको जानकारी दिए ।

जसअनुसार प्रदेशभरिका ३७ वटै जिल्ला–नगर उद्योग वाणिज्य संघ र १४ वटा वस्तुगत संघले कात्तिक २२ गते बिहान ११ बजे आ–आफ्ना जिल्लास्थित जिल्ला प्रशासन कार्यालय र जिल्ला वा नगरस्थित बैंक तथा वित्तीय संस्थामा ज्ञापनपत्र दिनेछन् ।

त्यस्तै कात्तिक २३ गते जिल्ला–नगर उद्योग वाणिज्य संघ र वस्तुगत संघमा आबद्ध व्यवसायीले बैंकसँग कुनै पनि कारोबार नगरी नजिकको बैंकमा २ घण्टा प्लेकार्डसहित मौन जुलुस प्रदर्शन गर्नेछन् ।

कात्तिक २५ गते बिहान १० बजे नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को सचिवालयमा भेला भई प्रदेश नं. १ का मुख्यमन्त्री र नेपाल राष्ट्र बैंकको विराटनगरस्थित कार्यालयअगाडि प्लेकार्डसहित धर्ना दिने तथा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको छ ।

कात्तिक २८ गते नेपाल राष्ट्र बैंकको अव्यावहारिक नीतिविरूद्ध दबाब दिन नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यालयमा भेला हुने कार्यक्रम छ ।

परिपत्रमा जिल्ला–नगर उद्योग वाणिज्य संघ तथा वस्तुगत संघका अध्यक्षलगायत कार्यसमितिका सबै पदाधिकारी र सदस्यले महासंघको केन्द्रीय कार्यालय र प्रदेश १ का दबाबमूलक कार्यक्रममा अनिवार्य उपस्थिति हुनुपर्ने जानकारी पनि गराइएको छ ।

यसअघि महासंघ प्रदेश १ का आयोजनामा विराटनगरमा कात्तिक ३ गते प्रदेशका सबै जिल्ला–नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ र एसोसिएट सदस्यसहितको विस्तृत बैठक भएको थियो । त्यसले बैंक तथा वित्तीय संस्थामा भइरहेको चर्को ब्याजवृद्धिका विरूद्ध प्रदेशभरि आन्दोलन गर्ने निर्णय गरेको थियो ।

प्रदेश १ ले सुरु गरेको आन्दोलनलाई केन्द्रले पनि समर्थन गर्दै शुक्रबार राजधानीमा उद्योगी व्यवसायी प्रदर्शनमा उत्रिएका थिए । कार्यकारी निर्देशक भण्डारीले पठाएको विज्ञप्तिमा चर्को रूपमा वृद्धि भइरहेको ब्याजका कारण उद्योग व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था उत्पन्न भएको र यसका विरूद्ध देशभरिका व्यवसायी आन्दोलित भइरहेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्