भारतले हटायो नेपाल निर्यात हुने धानमा लगाएको कर


Bazar Dainik
1 November, 2022 8:42 pm

काठमाडौँ, कात्तिक १५ । भारतले नेपाल आउने धानमा लगाएको २० प्रतिशत भन्सार शुल्क हटाएको छ । भारतले नेपालका लागि निर्यात गर्दा पुनः भन्सार नलिने भएको हो ।

भारत सरकारको अर्थ मन्त्रालय (राजस्व विभाग) ले १४ कात्तिकमा सूचना जारी गर्दै नेपालको लागि धान निर्यातमा भन्सार दर शून्य कायम गरेको जनाएको छ ।

यसअघि भारत सरकारले २३ भदौमा सूचना जारी गरेर नेपालको लागि समेत धान निर्यात गर्दा २० प्रतिशत भन्सार शुल्क लाग्ने बताएको थियो । सूचना जारी भएलगत्तै वीरगञ्ज उद्योग वाणिज्य संघ, नेपाल चामल, दाल, तेल संघले विरोध जनाएको थियो ।

संघले नेपाल तथा भारतका सम्बन्धित निकायमा गई नेपालका लागि धान निर्यातमा लगाएको २० प्रतिशत भन्सार शुल्क हटाएर शून्य भन्सारमा झार्न पहल गर्दै आएको थियो ।

भारतले जारी गरेको सूचनामा धान, भुसी (खैरो) चामल, अर्ध–मिलेको वा पूर्ण–मिलेको चामल, पोलिस गरिएको वा ग्लेज्ड अथवा उमालेको चामल र बासमती चामल बाहेकमा भन्सार नलाग्ने उल्लेख गरेको छ । यस्तै अर्गानिक गैर–बासमती चामल निर्यातमा पनि भन्सार लाग्दैन । तर त्यसका लागि ४ वटा शर्त राखिएको छ ।

९ सेप्टेम्बर २०२२ भन्दा यता भन्सारमा आएका धानमा पनि भन्सार लाग्ने छैन । धान नेपाल निर्यात गर्दा रक्सौलस्थित भन्सार स्टेसन, जोगबनी वा सुनौली जताबाट गरे पनि ६ लाख मेट्रिक टन भन्दा बढी गर्न नपाउने शर्त छ ।

लेटर अफ क्रेडिट ९ सेप्टेम्बर २०२२ बाट मात्रै खोलिने उल्लेख गर्दै त्यसअघि नै भारतीय र विदेशी बैंक बीच विनिमय भइसक्नुपर्ने लगायत शर्त राखिएको छ ।

नेपाल चामल, दाल, तेल संघका अध्यक्ष समेत रहेका गुप्ताले ६ लाख मेट्रिकटन धान आयात गर्न पाउने अनुमति पाएकोमा खुशी व्यक्त गरे । गत वर्ष नेपालले भारतबाट साढे ५ लाख मेट्रिकटन धान आयात गरेको थियो ।

नेपालका चामल उद्योगहरुको विकास, विस्तार र प्रबर्द्धनसँगै नयाँ चामल उद्योगहरु स्थापनामा यसले मद्दत पुग्ने गुप्ताको भनाइ छ । भारतबाट धान आयात गर्न पाउँदा उपभोक्ताले सस्तो मूल्यमा गुणस्तरीय चामल प्राप्त गर्ने दाबी उनको छ ।

प्रतिक्रिया दिनुहोस्