पूर्वपश्चिम लोकमार्ग चारलेनको बनाउने घोषणा


Bazar Dainik
29 October, 2022 2:42 pm

झापा, कात्तिक १२ । नेपाली कांग्रेसले आसन्न निर्वाचन पछि सरकारको नेतृत्व गरे पूर्वपश्चिम लोकमार्ग चार लेनको बनाउने घोषणा गरेको छ । निर्वाचन लक्षित घोषणा पत्रमा कांग्रेसले आगामी सरकारको नेतृत्व लिने दाबी गर्दै पूर्वपश्चिम लोकमार्ग चारलेनको बनाउने घोषणा गरेको हो ।

कांग्रेसको घोषणा पत्रमा मुग्लिङदेखि पोखरासम्मको पृथ्वी लोकमार्ग पनि चार लेनको बनाइने उल्लेख छ । घोषणा पत्रमा निजगढ–काठमाण्डौं द्रतमार्ग सञ्चालन भइसक्ने पनि लेखिएको छ ।

आगामी ५ वर्षमा हुलाकी सडक, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी लोकमार्गलाई सम्पन्न गरिएको र मनाङदेखि मुस्ताङ हुँदै जुम्ला जोड्ने सडकको अधिकांश भाग सम्पन्न गरिने कांग्रेसको भनाइ छ ।

कांग्रेसले आगामी ५ वर्षभित्रमा उत्तर–दक्षिण मार्गहरु (मेची करिडोर, कोसी करिडोर, सगरमाथा करिडोर, तमोर करिडोर, कालीगण्डकी करिडोर, भेरी करिडोर, कर्णाली करिडोर, महाकाली करिडोर) सम्पन्न हुने पनि बताएको छ ।

बीपी लोकमार्ग, अत्तरियादेखि तिंकर जोड्ने, खाड्पेदेखि बझाङ जोड्ने मार्गहरु स्तरोन्नति गरिने छन् । काठमाडौंका चक्रपथ विस्तार सम्पन्न भइसक्ने र डुम्रे–बेशीसहर–मनाङ सडक कम्तिमा दुई लेनको बन्ने पनि घोषणा पत्रमा उल्लेख गरिएको छ ।

कांग्रेसले उच्च प्राथामिकताका साथ टोखा–छहरे सुरुङ्ग मार्ग पाँच वर्षभित्र सम्पन्न हुने उद्देश्यका साथ कार्य अगाडि बढाइने र नागढुङगा–सिस्नेरी, सिद्धबाबा तथा काठमाडौं–निजगढ सडकखण्डका सुरुङ निर्माण सम्पन्न हुने पनि घोषणा गरेको छ ।

दुम्किबास–बर्दघाट, माझिमटार–शक्तिखोर, खुर्कोट–चियाबारी, ब्याउलिढुंगा–इमिल्चाखोला, सुर्खेत–रानीघाट–भुरिगाउँ लगायतका सुरुङमार्गको सम्भाव्यता अध्ययन पूरा गरी निर्माण सुरु गरिने कांग्रेसको भनाइ छ ।

रेल मार्गलाई पूर्वी तराईका भिट्टामोड–जलेश्वर–जनकपुर खण्ड, कुर्था–जनकपुर–बर्दिबास खण्ड तथा बिराटनगर खण्डमा सम्पन्न गरिने कांग्रेसको घोषणा छ ।

प्रतिक्रिया दिनुहोस्