भदौ र असोजमा घट्यो विराटनगर भन्सारबाट आयात


Bazar Dainik
29 October, 2022 2:26 pm

विराटनगर, कात्तिक १२ । भारतबाट आउने व्यापारिक मालवस्तुमा नेपाल राष्ट्र बैंकले एलसी र नगद मार्जिनको व्यवस्था अनिवार्य गरेपछि आयात र राजस्व दुवैमा ह्रास आएको छ ।

पूर्वको मुख्य नाका विराटनगर भन्सार कार्यालयले आयात घटेसँगै राजस्वसमेत प्रभावित भएको जनाएको हो । हरेक वर्ष चाडबाडका लागि भदौ र असोज महिना उच्च आयातको समय मानिन्थ्यो । तर, गत आर्थिक वर्षका तुलनामा चालु वर्षका दुवै महिना आयात घटेको छ ।

भन्सारका अनुसार चालु आवको पहिलो त्रैमासिक अवधिमा लक्ष्यका तुलनामा ६६ प्रतिशत मात्र असुली हुन सकेको छ । कार्यालयलाई पहिलो त्रैमासिक अवधिमा १३ अर्ब ४७ करोड ७२ लाख संकलन लक्ष्य दिइएको थियो। जसमा ८ अर्ब ८४ करोड ८४ लाख मात्र उठेको छ ।

कार्यालयले भन्सार महसुलतर्फ ५ अर्ब ६८ करोड ५६ लाखको लक्ष्यमा ३ अर्ब ३० करोड ३२ लाख, मूल्य अभिवृद्धि कर (भ्याट)को ६ अर्ब ३४ करोड ५२ लाखको लक्ष्यमा ४ अर्ब ७२ करोड ३१ लाख र अन्तःशुल्कको ८६ करोड ४२ लाखको लक्ष्यमा ५३ करोड २८ लाख असुल गरेको छ ।

कार्यालयले गत आवको पहिलो त्रैमासिक अवधिमा ११ अर्ब ७२ करोड ४७ लाखको लक्ष्यमा ११ अर्ब १ करोड ११ लाख असुल गरेर सन्तोषजनक काम देखाएको थियो ।

कार्यालयका सूचना अधिकारी रामचन्द्र ढुंगानाका अनुसार विराटनगरको रानी नाकाबाट गत आवको साउनका तुलनामा चालु आवको साउनमा ११ प्रतिशतले आयात घटेको छ । गत आवको साउनमा १८ अर्ब ४० करोडको मालवस्तु आयात हुँदा चालु आवको साउनमा १६ अर्ब ३५ करोडको भित्रिएको छ ।

त्यस्तै गत आवको भदौका तुलनामा चालु आवको भदौमा पनि ११ प्रतिशतले नै आयात घटेको छ। गत आवको भदौमा १९ अर्ब ८० करोडको आयात हुँदा चालु आवको भदौमा १७ अर्ब ५७ करोडको आयात भएको छ ।

असोज महिनाको आयात झन् २६ प्रतिशतले घटेको छ । गत आवको असोजमा २० अर्बको आयात हुँदा चालु आवको असोजमा १४ अर्ब ८६ करोडको आयात भएको छ ।

गत आवको पहिलो त्रैमासिक अवधिका तुलनामा चालु आवको सोही अवधिमा आयातका लागि आउने मालवाहक गाडीको संख्या पनि घटेको पाइएको छ ।

गत आवको साउनमा यस नाकामा आयातका मालवस्तु बोकेर ७ हजार २ सय गाडी आएकोमा चालु आवको साउनमा ३० प्रतिशतले कम भई ५ हजार २ सय गाडी आएका छन् । त्यस्तै गत आवको भदौमा ७ हजार ३ सय मालवाहक गाडी आएकोमा चालु आवको भदौमा २० प्रतिशतले कम ५ हजार ८ सय मात्र आएको तथ्यांक छ ।

असोज महिनामा पनि गत आवको असोजका तुलनामा २० प्रतिशत कमले नै मालवाहक गाडी आएको भन्सारको तथ्यांकमा छ । गत आवको असोजमा यो नाकामा ७ हजार ३ सय मालवाहक गाडी आएकोमा चालु आवको असोजमा ५ हजार ६ सय वटा मात्र आएका छन् ।

विराटनगर भन्सार एजेन्ट संघ अध्यक्ष देवकी शर्माले आयातमा राष्ट्र बैंकको एलसी र नगद मार्जिनको अनिवार्य व्यवस्थाले अनौपचारिक व्यापार वृद्धि हुँदा औपचारिक आयात र राजस्व दुवै घटेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्