सुटुक्क छाडियो ८ ट्रक सुपारी


Bazar Dainik
10 October, 2022 5:45 pm

झापा, असोज २४ । प्रहरीले साउन ५ मा पक्राउ गरेर ८ गते राजस्व अनुसन्धानमा बुझाएको सुपारी असोज १३ गते नै छुटिसकेको छ । दसैं बिदाको मौका छोपेर राजस्व अनुसन्धानले ८ ट्रक सुपारी छाडिदिएको हो ।

प्रधानमन्त्री कार्यालयसम्मको शक्ति लगाएर दसैं बिदा हुने बेलामा सुपारी छाडिएको हो । असोज १५ गतेदेखि दसैं बिदा सुरु भएको थियो । राजस्वले असोज १३ गते नै सुपारी छाडिदिएको हो । कार्यालयका प्रमुख तीर्थराज खनालले विभागको पत्रअनुसार ८ ट्रक सुपारी १३ गते छाडिएको पुष्टि गरे ।

प्रमुख खनालका अनुसार कार्यालयलाई राजस्व अनुसन्धान विभागले प्रहरीले पक्राउ गरेर बुझाएको ८ ट्रक सुपारीलाई गन्तव्यतर्फ जान दिनू भन्ने ब्यहोराको पत्र पठाएको थियो । सोही पत्रका आधारमा सुपारी छाडिएको हो ।

पत्रमा गन्तव्यतर्फ जान दिनू भन्नेबाहेक अन्य केही ब्यहोरा उल्लिखित छैन । मोरङ प्रहरीले विराटनगर र जोगबनी भन्सारबाट जाँचपास भई भारतीय मार्गतर्फ जाँदै गरेका अवस्थामा ८ वटा ट्रकमा लोड गरिएको २ लाख १९ हजार ५९६ किलो सुपारी पक्राउ गरेर राजस्व अनुसन्धानमा बुझाएको थियो ।

यसपछि सुपारीका निर्यातकर्ता मनकामना ट्रेडर्सका नवीन घिमिरेले जिल्ला प्रहरीसमेतलाई प्रतिवादी बनाएर उच्च अदालत विराटनगरमा गत साउन २६ मा सुपारी छाडिदिने माग गर्दै रिट दायर गरेका थिए ।

जानकारका अनुसार निर्यात भई भारतीय मार्गतर्फ गइरहेको उक्त ८ ट्रक सुपारी प्रहरीले प्रधानमन्त्रीका किचन क्याबिनेटका एक शक्तिशाली सदस्यका दबाबमा पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्