प्रवासीको चाडपर्व : ज्यान विदेशमा, मन स्वदेशमा


मनिषा चम्लागाईं
10 October, 2022 5:25 pm

टोकियो, असोज २४ । १६ वर्षदेखि लण्डनको डार्डफोडमा बस्दै आएका इलामको देउमाई नगरपालिका पानिटारका गजेन कटुवाललाई हरेक चाडपर्वले नेपालको याद दिलाइदिन्छ ।

दैनिक १० घण्टा काम गरेर पनि उनी नेपाली चाडपर्वका लागि समय छुट्याउँछन् । दशैंमा नेपालबाट बुबाआमा ल्याउने साथीभाइ कहाँ गएर टिका लगाउने गरेको उनी सुनाउँछन् ।

विदेशी भूमिमा कामलाई विशेष प्राथमिकता दिइन्छ । शनिबार र आइतबार मात्र विदा हुन्छ । उनी भन्छन्, ‘त्यो बीचमा नपरेपनि समय मिलाएर नेपाली समुदाय भेला भएर चाडपर्व लक्षित कार्यक्रम गर्छौँ ।’

डार्डफोट नेपाली सोसाइटीका पूर्व अध्यक्षसमेत रहेका कटुवालले सोसाइटीले हरेक वर्ष झैँ यसपालि पनि दशैँ विशेष कार्यक्रमको आयोजना गरेको सुनाए ।

‘कार्यक्रममा नेपाली परिकार बनाएर खान्छौँ, नेपाली पोशाक लगाउँछौँ’, कटुवालले भने, ‘एक आपसमा सुखदुःख साट्छौँ, देशको सम्झना गर्दै प्रदेशमा पनि चाडपर्व मनाउँछौं ।’

डार्डफोट नेपाली सोसाइटीमा डेढ सय नेपाली परिवार आबद्ध छन् । परिवारसँगै लण्डनमा बस्दै आएका कटुवाल प्रवासमा जन्मिने दोस्रो पुस्तालाई नेपाली कला र संस्कृति सिकाउनुपर्छ भन्ने विषयमा सर्तक देखिन्छन् । ‘सन्ततिलाई नेपाली संस्कृति र भाषा सिकाउने उद्देश्यले संस्थाको स्थापना गरिएको हो’, उनी भन्छन् ।

नेपालमा हुँदा त चाडपर्वको रौनक नै फरक हुने उनी सम्झन्छन् । ‘आमाबुबा र ठूलाबडाको हातबाट टिका लगाएर आर्शिवाद थापेको झझल्को विदेशमा धेरै आउँछ’, उनी भन्छन्, ‘लण्डन आएपछि कमै मात्र दशैँमा आमाबुबाको हातबाट टिका लगाएँ ।’
समय–समयमा आमाबुबालाई भेट्न नेपाल फर्किने गरे पनि चाडपर्वमा जान अवसर नमिल्ने गरेको उनी बताउँछन् । लण्डनमा नेपालमा रहँदा मनाइने तिहार पर्वको धेरै याद आउने उनी बताउँछन् ।

जनआन्दोलन अघि तिहारमा ‘राजनीतिक देउसी’ खेलको आफ्नो मानसपटलमा आइराख्ने उनी बताउँछन् । ‘पञ्चायत शासन विरोधी देउसी खेलेको पनि अहिले जस्तो लाग्छ’, उनी भन्छन्, ‘हाम्रो देउसी जनचेतना मुलक हुन्थ्यो ।’

उनले सम्झिए, ‘प्रहरी आउँछ कि भनेर दायाँबायाँ आँखा डुलाएर देउसी खेल्नु पथ्यो । अलिक टाढा प्रहरी देख्नसाथ हामी भनभन भाइ हो भन्दै सामान्य लयमा फर्कन्थ्यौँ ।’

देउसी खेल्न गएको घरमा प्रहरी आउँछ भन्ने डरले चाँडै दक्षिण दिन्थे । ‘त्यो बेलाका मेरा दौतरी होम दुलाल, टंक कट्टेल लगायत थिए’, उनले थपे, ‘शिक्षक देवी गौतम, शशीधर बराल, दिदी उषाकिरण अधिकारीले सहयोग गर्नु हुन्थ्यो, यसरी देउसी खेलेर संकलन गरेको पैसा मंगलबारेस्थित भानुभक्त माध्यमिक विद्यालयको छात्रावास निर्माणमा सहयोग गरेका थियौँ ।’

अमेरिकाको मेरिल्याडमा रहेकी झापा बाहुनडाँगीकी राधा शर्मालाई भने यस वर्षको दशैँले गाउँ नै पु¥याउने भयो । ‘चाडपर्व भनेपछि देशै रमाइलो, गाउँ नै रमाइलो’ शर्मा भन्छिन् ।

‘मेरो बुबाआमा बितिसक्नु भयो । दाजु ७३ वर्षको हुनुहुन्छ । यस वर्षको दशैँंमा दाजुको हातबाट टिका नथापि मनै मानेन । विजयादशमीको दिन अमेरिकामा छोरी ज्वाईँलाई टिका लगाइदिएर नेपाल जाने टिकट लिइसकेँ,’ झापाको पहिलो महिला पत्रकारसमेत रहेकी शर्माले भनिन् ।

‘विदेश आएपछि पर्वको महत्व अझ बढ्दो रहेछ । यहाँ पनि जमारा राख्ने टिका लगाउने त गरिन्छ, तर, देशमा जस्तो कहाँ हुन्छ र !’ उनी भन्छिन् ।

‘बुबाआमा हुँदा दशैँ भरी हरेक दिन टिका लगाइदिनु हुन्थ्यो । अष्टमी, नवमीको दिन छोरीलाई पुजा गर्नु हुन्थ्यो । आफू पुजीन पाउँदाको त्यो मेरो जीवनको स्वर्णिम क्षण हो । तिनै क्षणहरुले तानेर आज चाडपर्वमा नेपाल फर्कँदै छु’ उनले भनिन् ।

विगत सात महिना अघि विद्यार्थी भिसामा जापान आइपुगेकी धरानकी ऋतु राईलाई चाडपर्वले छोएको छैन । ‘म हप्तामा ६ दिन काम गर्छु, मंगलबार विदा हो । विदाको दिन दशैँ परेको छैन । यहाँ पहिलो प्राथमिकता कामलाई दिइन्छ, कलेज पनि जानुपर्छ’, उनी भन्छिन् ।

काम र पढाइको तनावले चाडपर्वतिर ध्यानै नजाने उनी बताउँछिन् । विदेशका शहरहरुमा पनि दशैँका दिन त आउँछन्, तर, दशैँ आउँदैन ।

‘देशमा दशैँको बेलाको घाम नै बेग्लै हुन्छ, दशैँको दिन नै बेग्लै हुन्छ, मन नै बेग्लै हुन्छ’, उनले सम्झन्छिन्, ‘नेपालमा बाआमालाई चाडपर्व मनाउने खर्च पठाइदिएकी छु ।’

दशैँको लागि भनेर विदा नलिएको राईले बताइन् । ‘दिउँसो साथीभाइसँग भेला भएर टिका लगाउँला, फेरि नाइट डिउटी त जानु नै छ’, उनले भनिन् । विदेशमा चाडपर्व खल्लो हुने उनी सुनाउँछिन् । ‘ज्यान मात्र जापानमा छ, मन त धरानमै छ,’ राईले भनिन् ।

दुबईको जुमेरा भिलेजमा रहेका ओम घिमिरेलाई चाडपर्व आएसँगै घरको न्यास्रो लाग्न थालेको छ । परदेशमा नै भएपनि आफन्त र साथीभाई भेला भएर दशैँ मनाउने उनले बताए । विदेशको दशैँ केही न केही नमिले जस्तो हुने उनी बताउँछन् ।

‘विदेशमा वर्षभरि कुरेर न त स्वदेशको जस्तो स्वादिलो मासु खान पाइन्छ, न त पिङ खेल्न नै पाइन्छ,’ घिमिरेले भने ‘त्यसैले विदेशको दशैँ केवल संस्कृति र जन्मभूमिमा बिताएका क्षणको सम्झना मात्र हो ।’

‘कामको व्यस्ततालाई थाती राखेर केही साथीहरु चाडपर्व मनाउन आफ्नै देश फर्कनु भयो, मैले फर्कन मिलेन,’ उनी भन्छन् । गत वर्षको फागुनमा नेपाल गएर विवाह गरेका घिमिरेलाई विवाह पछिको पहिलो दशैँ श्रीमती र परिवारसँगै बसेर मनाउने रहर भएपनि नपाएको बताउँछन् ।

‘परिवारसँगै दशैं मनाउने रहर थियो तर, के गर्नु मायाले संसार नथाम्ने रहेछ’, घिमिरेले भने, ‘रोजीरोटीका लागि भएपनि विदेशमा बस्नुपर्ने बाध्यता छ ।’

कोरियाको ग्यंगीदो प्रान्तमा रहेका पाँचथरको फिदिम नगरपालिका –९ का धन दङ्गाल विगत ८ वर्षदेखि कोरियामै दशैँ मनाउँदै आएका छन् । यस वर्षको दशैँमा साथीहरुसँग नेपाली रेष्टुरेन्ट जाने, नेपाली परिकार खाने, टिका लगाउने योजना बनाएका छन् दंंगालले ।

‘विदेशमा चाडपर्व भनेको नेपालको सम्झना गर्नु मात्र न हो । स्वदेशमा दशैँको जुन माहोल हुन्छ विदेशमा त्यो कति पनि हुँदो रहेनछ,’ दंगालले भने, ‘कोरिया आएको ८ वर्ष भयो, नेपाल फर्किएको छैन । चाडपर्वमा भने गाउँघरको याद धेरै आउँछ ।’

विश्वका विभिन्न मुलुकमा रोजगारी तथा अध्ययनको शिलशिलामा रहेका नेपाली भाषीहरुले चाडपर्वमा जन्मभूमि सम्झनु स्वभाविक हो । तर रोजगारीका लागि पराइ मुलुक पुग्ने उनीहरुको दशैं सधैँ खल्लो हुन्छ । यद्यपि, साथीभाइ भेला भएर टीका लगाएर आफ्नो संस्कृति र परम्परालाई मान्ने गरेको उनीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्