विराटनगरबाट साउनमा नियन्त्रणमा लिइएको ८ ट्रक सुपारीमा उच्च तहको सहमति, निर्यातको तयारी


Bazar Dainik
23 September, 2022 5:43 pm

झापा, असोज ७ । दुई महिनाअघि प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाएको ८ ट्रक सुपारी छाड्ने तयारी भएको छ । उच्च तहमा सुपारीका सम्बन्धमा कुरा मिलेपछि अदालतमा रहेको प्रक्रियालाई टुंग्याएर सुपारी निर्यातको तयारी भएको स्रोतले जनाएको छ ।

गत साउन ५ गते प्रहरीले रानी भन्सारबाट जाँचपास भई भारतीय कस्टममा राजश्व तिरिसकेको ८ ट्रक सुपारी गैरकानुनी भएको भन्दै नियन्त्रणमा लिएको थियो ।

प्रहरीले सुपारी नियन्त्रणमा लिएपछि निर्यातकर्ता मनोकामना ट्रेडर्सका सञ्चालक नवीन घिमिरे उच्च अदालत गएका थिए । तर दुई महिनाको अवधिमा सुपारीको डिल मिलेपछि सुपारी निर्यातकर्ता मनोकामना ट्रेडर्सका सञ्चालक नवीन घिमिरेले उच्च अदातलमा हालेको रिट फिर्ता लिएका छन् ।

उनी रिट फिर्ता गर्न माग राख्दै मंगलबार अदालत गएका थिए । उनले दिएको निवेदन उपर उच्च अदालत विराटनगरका न्यायाधीश मुरारीबाबु श्रेष्ठ र राजनप्रसाद भट्टराईको संयुक्त इजलासले रिट फिर्ताको आदेश दिइसकेको उच्च अदालतका सूचना अधिकारी ओम अधिकारीले बताए ।

घिमिरेले नेपालको उत्पादन भएको सुपारी सम्पूर्ण कानुनी प्रक्रिया पुर्याएर भारत निकासी गर्न लागेका बेला प्रहरीले गैरकानुनी रूपमा पक्राउ गरी राजश्व अनुसन्धानमा बुझाएको भन्दै रिट दायर गरेका हुन् ।

उनले राजश्व अनुसन्धान कार्यालय इटहरी, विराटनगर भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय मोरङ र भन्सार विभागलाई विपक्षी बनाएका छन् ।

अदालतमा रिट परेपछि राजश्व अनुसन्धान एकाइ कार्यालयले प्रहरीले बुझाएको सुपारीका विषयमा अनुसन्धान गरेको थिएन । राजश्व अनुसन्धानका एक अधिकारीले रिट फिर्ता हुनुलाई सुपारी निर्यात गर्ने बाटो खुलेको बताए ।

उनले भने, ‘यो सरल बाटोको अनुसन्धान थिएन । दुवै पक्षका स्वार्थले राजश्वसम्म सुपारी आएकाले यो मुद्दा पनि त्यसरी नै टुंगिन्छ ।’
उनका अनुसार अदालतको आदेश अहिलेसम्म राजश्व कार्यालयमा आइनपुगेको र आइपुगेपछि अनुसन्धानको प्रक्रिया आगाडि बढ्ने छ ।

राजश्व अनुसन्धान एकाइ कार्यालय इटहरीका प्रमुख तीर्थराज खनालले रिट फिर्ता लिएपछि अनुसन्धानका लागि सहज भएको बताए ।

उनले उक्त सुपारी भारतको भएको दाबी गरे । भन्सारबाट आवश्यक कागजपत्र हेरेर जाँचपास भएको तथा भारतीय कस्टममा राजश्वसमेत तिरिसिकेकाले सुपारी भारतको भएको खनालले दाबी गरे ।

उनले प्राविधिक कारणले नेपाली बाटो मात्रै प्रयोग भएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको बताए । ‘हामीले आवश्यक कागजात हेर्ने हो । कागजत मिले/नमिलेको अनुसन्धान गर्ने र थप अनुसन्धानका लागि राजश्व विभागलाई अनुरोध गर्ने हो’, उनले भने ।

८ वटा ट्रकमा २ लाख १९ हजार ५९६ किलो सुपारी छ । जसको मूल्य करिब ८ करोड ६३ लाख ८१ हजार रुपैयाँभन्दा बढी पर्ने प्रहरीको भनाइ छ । मनोकामना ट्रेडर्स विराटनगर १४ का नाममा झापाबाट खरिद भएर आइसा एक्सपोर्ट कोलकातालाई बिक्री गरेको सुपारी झापामा उत्पादन भएको कागजत भन्सारलाई पेस गरिएको छ ।

सुपारी निर्यातका लागि नेपाल सुपारी खेती विकास संस्था अर्जुनधारा सिफारिस गरेको छ । सो सुपारी झापामै उत्पादन भएको उद्योग वाणिज्य संघ भद्रपुर झापाले उत्पतिको प्रमाणपत्र समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्