अपाङ्गता भएकालाई निर्वाचनमा सहभागी गराउन माग


Bazar Dainik
15 September, 2022 8:49 pm

बिर्तामोड, भदौं ३० । मंसिर ४ मा हुने निर्वाचनबाट प्रतिनिधि तथा प्रदेशसभामा अपाङगता भएकाहरुको सहभागिताका लागि माग गरिएको छ । दलका प्रमुख तथा प्रतिनिधिसँग सरोकारवालाले समावेशी सिद्धान्तअन्तर्गत अपाङ्गता भएकाहरुको सहभागिता सुनिस्चितता गर्न माग गरेका हुन् ।

नेत्रहीन युवा संघ नेपालको आयोजना तथा संवाद समूह झापाको सहकार्यमा बोल्दै उनीहरुले आगामी निर्वाचनमा झापा जिल्लामा अपाङ्गतामैत्री संरचना निर्माणको समेत माग गरेका छन् । मतदानमा अपाङ्गता भएकाहरुको पूर्ण सहभागिताका लागि मतदान स्थल तथा केन्द्रहरु अपाङ्गमैत्री हुनुपर्ने सहभागीको माग थियो ।

कार्यक्रममा नेत्रहीन युवा संघ नेपालका जिल्ला अध्यक्ष दिलकुमार राजवंशीले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले अपाङ्गता भएका व्यक्तिहरुको निर्वाचनमा सहभागिता सम्बन्धी संवैधानिक व्यवस्था, निर्वाचनमा सहभागी हुँदा विगतमा देखिएका समस्याहरु, अपाङ्गता भएकाहरुका लागि निर्वाचन प्रक्रियामा गर्नेपर्ने सुधारका पक्षहरुलगायत विषय राखेका थिए ।

कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले अपाङगता भएकाहरुबारे संविधानमा भएको व्यवस्था कार्यान्वयन हुनुपर्नेमा जोड दिए । उनले प्रतिनिधिसभा र प्रदेशसभामा अपाङगता भएकाहरुको सहभागिताबारे राजनीतिक दलहरुलाई निरन्तर दबाब दिनुपर्ने बताए । उनले मतदान केन्द्रहरु अपाङ्गतामैत्री बनाउने प्रयास गर्ने बताए ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले संसदमा अपाङ्गता भएकाहरुको प्रतिनिधित्वबारे स्पष्ट कानुनी व्यवस्था भएपनि अपांगता भएकाहरु राजनीतिक दलको तर्फबाट उम्मेदवार बन्न नसक्नु दुखद् भएको बताए । उनले आगामी निर्वाचनमा अधिकतम् मतदानस्थल अपांगतामैत्री बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाईले अगामी निर्वाचनमा अपांगता भएकाहरुलाई पनि समेट्ने विषयमा छलफल अघि बढाउने धारणा राखे । उनले कांग्रेसको विधानमै अपांगता भएकाहरुलाई पनि समेट्नुपर्ने भन्ने व्यवस्था रहेकाले विधानअनुसार अपांगता भएकाहरुको माग सम्बोधन गर्ने बताए । नेकपा एमालेका सचिवालय सदस्य देवराज कार्कीले अपांगता भएकालाई छुटाएर निर्वाचनमा जाँदा समावेशी सिद्धान्त विपरित हुने बताए । उनले एमालेले समावेशी सिद्धान्तलाई पूर्ण पालना गर्दै अपांगता भएकाहरुको प्रतिनिधित्व आगामी निर्वाचनमा गराउनेबारे पार्टीभित्र छलफल चलाउने प्रतिवद्धता व्यक्त गरे ।

राप्रपाका जिल्ला अध्यक्ष केशव ओझाले अपांगताबारे अब बहस मात्र नभई व्यवहारिक पाटोमा ध्यान दिनुपर्ने बताए । उनले आगामी निर्वाचनमा मतदानस्थलहरुमा सहजै पुगेर जिल्लाका सबै अपांगता भएकाहरुले मतदान गर्न सक्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए । लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला अध्यक्ष अनुतसिंह राजवंशीले उम्मेदवार छनोट गर्ने समयमा अपांगता भएका व्यक्तिहरुलाई पनि आगामी निर्वाचनमा उम्मेदवार बनाउनुपर्ने भन्ने कुराको उठान सही समयमा भएको बताए । उनले अपांगतामैत्री निर्वाचन प्रणालीबारे आफूले पटकपटक कुरा उठाएको र आगामी दिनमा पनि त्यसका लागि पहल गर्ने बताए ।

कार्यक्रममा नेत्रहीन युवा संघ नेपालले आगामी निर्वाचनमा अपाङ्गता भएकाहरुको उम्मेदवारी सुनिश्चितता तथा अपांगता भएकाहरुको सवालहरु समेटिएको ज्ञापन पत्र समेत जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलाई बुझाएका छन् ।
कार्यक्रममा जनता समाजवादी पार्टीका जिल्ला सहसचिव अर्जुन कुमार राई, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष उमेश खरेल, उद्योग वाणिज्य संघ बिर्तामोडका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, अधिवक्ता कविता बास्तोला, सारदा रिजाल, नारी कल्याण समाज झापाकी अध्यक्ष प्रेमा भट्टराईलगायतले आगामी निर्वाचनबाट अपांगता भएकाहरुको पनि राजनीतिक सहभागीता हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले विगतमा अपांगतामैत्री मतदानस्थल नहुँदा अपांगता भएकाहरु मतदानस्थलसम्म पुगेर मतदान नगरी फर्किनुपर्ने अवस्था रहेकोमा आगामी निर्वाचनमा त्यस्तो हुन नहुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्