सरकारको अपेक्षा अनुसार बढ्न सकेन निर्यात


Bazar Dainik
9 September, 2022 7:22 pm

झापा, भदौ २४ । सरकारले निर्यात सम्भावना देखेर सूचीमा राखेका ९ वटा वस्तुको निर्यात अपेक्षाकृत रूपमा बढ्न सकेन । व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार पाँच आर्थिक वर्ष (२०७४/७५ देखि २०७८/७९)मा यस्ता वस्तुको निर्यात जम्मा एक खर्ब ८५ अर्ब रुपैयाँ बराबरको भएको छ ।

सरकारले २०७३ सालमा बनाएको नेपाल व्यापार एकीकृत रणनीतिले अलैंची, अदुवा, चिया, जडिबुटी, धागो, छालाका सामग्री, जुत्ता, पश्मिना र कार्पेटको निर्यात सम्भावना देखेको थियो ।

यस्तो वस्तु निर्यातमा सरकारले तीनदेखि पाँच प्रतिशत अनुदान दिँदै आएको छ । साथै यस्ता वस्तुको मूल्य अभिवृद्धि ३० देखि ५० प्रतिशत हुनुपर्ने निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधि, २०७५ ले व्यवस्था गरेको छ ।

२०७६ मा कोभिड प्रभावपछि यी वस्तुको निर्यात वृद्धिदर ऋणात्मक भएसँगै ओरोलो लाग्दै गएको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा यी वस्तुको निर्यात जम्मा ७.४६ ले बढेर ४२ अर्ब पुगेको छ । तर, अलैंची, चिया, जडिबुटीको निर्यात ९ देखि ३१ प्रशितसम्म घटेको छ ।
त्यस्तै, अदुवा, धागो र कार्पेटको निर्यात १९ देखि ४२ प्रतिशतले बढेको छ । छाला, जुत्ता र पश्मिनाको निर्यात भने नगन्य मात्रामा बढेको छ । कृषिजन्य वस्तुको निर्यातमा बेलाबेला समस्या आउने भएकाले पनि यसको निर्यातमा एक रूपमा छैन ।

अहिले सरकार नेपालबाट निर्यात संभावना भएका वस्तु तथा सेवा सम्बन्धी रणनीति (एनटिआइएस) पुनरावलोकन गर्ने चरणमा छ । एनटिआइएस भनेको कायम व्यापार र प्रतिस्पर्धामा देखिने चुनौती सामान गर्नको लागि बनाइएको रणनीति हो । उक्त रणनीतिमा त्यो मुलुकको निकासीको सम्भावना भएको वस्तु तथा सेवाहरूलाई समावेश गरिएको हुन्छ ।

यस्तो रणनीति दुई वा दुईभन्दा बढी मुलुक बिचको व्यापारमा देखापर्ने समस्या समाधानको लागि समेत सहायक हुन्छ । पूर्वअर्थ सचिवको रामेश्वर खनालको संयोजकत्वमा विज्ञहरूले यसको पुनरावलोकन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्