दसैं आउन २५ दिन अघि नै सकियो सस्तो टिकट


Bazar Dainik
6 September, 2022 6:37 pm

झापा, भदौ २१ । दसैंमा काठमाडौंबाट बाहिर हवाई उडानबाट आउजाउ गर्नेहरुलाई यसपटक निकै महँगो पर्ने देखिएको छ । दसैं आउन २५ दिन अघिबाटै आन्तरिक उडानका लागि सस्तो टिकट बिक्री भइसकेको ट्राभल एजेन्सीहरुले जनाएका छन् ।

मोबाइल वालेट, एयरलाइन्सका एप र बैंकका एपबाट सोझै खरिद गर्न सहज भएपछि धमाधम अग्रिम बुकिङ भएको कम्पनीहरुले जनाएका छन् । सामान्यता निर्धारण हुँदै आएको दरका तुलनामा यसपटक भाडा पनि महँगो छ । वायुसेवा कम्पनीहरुले यात्रुलाई भाडामा बढी फाइदा हुने सहुलियत अफर ल्याएका छैनन् ।

यात्रुले मोबाइल एपबाटै आफूलाई चाहिने दिन र एयरलाइन्सको टिकट काट्न थालेपछि ट्राभल एजेन्सीहरु त अझ चुपचाप छन् । इ–सेवामा आउँदो असोज १६ गतेका लागि तयार गरिएको भाडादर तालिकामा उल्लेख गरिए अनुसार कतिपय गन्तव्यमा शतप्रतिशतले भाडादर वृद्धि भएको छ ।

सौर्य एयरलाइन्सले दसैंका लागि अग्रिम बुकिङ जारी रहेको जनाएको छ । गत शुक्रबारदेखि दसैंका लागि बुकिङ खुला गरेको कम्पनीले यात्रुको मागलाई मध्यनजर गर्दै विराटनगर र भद्रपुरमा दुईवटा चार्टर उडान थप्ने योजना रहेको बजार प्रमुख मुकेश खनालले बताए। सौर्यले हाल दैनिक आठ उडान गर्दै आएको छ।

हाल दैनिक १ सय ४० उडान गर्दै आएको बुद्धले दसैंका लागि यात्रुको माग अनुसार प्राधिकरणसँग उडान संख्या विस्तारको प्रक्रिया सुरु गर्ने जनाएको छ ।

आन्तरिक उडानमा अग्रणी अर्को कम्पनी यती एयरले दसैंका लागि हालसम्म ६० प्रतिशत टिकट बिक्री भइसकेको जनाएको छ । यतिखेर नै दसैंका लागि सस्तो भाडादरको टिकट शतप्रतिशत सकिइसकेको कम्पनीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन वर्तौलाले बताए । हाल दैनिक २३ वटा उडान गर्दै आएको यतीले आउँदो असोजबाट यात्रुको माग अनुसार उडान संख्या विस्तार गर्ने योजना रहेको उनले जानकरी दिए ।

गुण एयरलाइन्सले घटस्थापनादेखि टिकाको दिनसम्मका लागि हालसम्म ७० प्रतिशत टिकट बुकिङ भइसकेको जनाएको छ । उपत्यकाबाट काठमाडौं फर्कने यात्रुले पनि टिकाको दिनदेखि पुर्णिमासम्मका लागि अग्रिम बुकिङ गरिसकेको प्रवक्ता प्रज्वल थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्