मेचेडाँगीदेखि पाटापुरसम्मको सडक निर्माण हुने


Bazar Dainik
5 September, 2022 6:15 pm

झापा, भदौ २० । झापाको मेचीनगरको मेचेडाँगीदेखि भारतको सिमना पाटापुरसम्मको सडक निर्माणका लागि टेण्डर आह्वान भएको छ ।

मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने पुरानो चुरे मार्गको मेचीनगर– १ मेचेडाँगीदेखि नेपाल–भारत सिमाना पाटापुरसम्मको करिब ४ किलो मिटर बाटो निर्माण प्राथमिकतामा नपर्दा बजेट विहिन भएर चर्को आलोचना हुँदै आएको थियो ।

नेपाली काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माको निरन्तरको पहलमा नेपाल सरकारले २५ करोड रकम निकासा गरेपछि परियोजनाको दमक डिभिजनले आज सो रकम बराबरको टेण्डर आह्वान गरेको छ । पुर्व पश्चिम राजमार्गको बैकल्पीक मार्गका रुपमा हेरिएको मदन भण्डारी मार्गका लागि बजेट अभाव देखाउँदै पुर्वी खण्ड निर्माणमा ढिलाई भइरहेको थियो ।

आफ्नो निर्वाचन क्षेत्रमा पर्ने भएकाले बाटो निर्माणका लागि महामन्त्री शर्माले पछिल्लो समयमा सरकारको विभिन्न निकायमा दबाब दिदैँ आएका थिए । रकम निकासा र टेण्डर आव्हानको खबर पछि त्यस क्षेत्रका स्थानीयबासी हर्षित भएका छन् ।

यसैबीच शर्माकै पहलमा क्षेत्र नं १ को फन्को मार्ने ‘रिङ रोड’ को अर्को खण्डका लागि चाँडै टेण्डर आह्वान हुने झापाका कांग्रेस नेता लोकराज ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्