कस्तो होला हिरोसिमा र नागासाकी ?


मनिषा चम्लागाईं
31 August, 2022 8:33 pm

हिरोसिमा परमाणु बम हमलाको भग्नावशेष ।

७७ वर्ष अघि जापानका दुई सहर हिरोसिमा र नागासाकीमा अमेरिकाले परमाणु बम खसालेको थियो । परमाणु बमा परी हिरोशिमामा १ लाख ४० हजार र नागासाकीमा ७४ हजार जना मानिसले ज्यान गुमाए । त्यो घटनाले जापानी नागरिक मात्र नभएर विश्व नै स्तब्ध बन्यो । अझै पनि विश्वभरमा सञ्चारमाध्यममा अमेरिकाले जापानका सहर हिरोसिमा र नागासाकीमा खसालिएको परमाणु बमको चर्चा हुने गर्छ ।

हिरोसिमा र नागासाकी नपुग्ने धेरैको मनोविज्ञानमा दुई सहरको विषयलाई लिएर त्यही घटना मानसपटलमा आउँछ । हामी अधिकांश नेपालीले विद्यालय तहमा नै हिरोसिमा र नागासाकी घटनाको अध्ययन गरिसकेका छौँ । अमेरिकाले बम खसालेर ध्वस्त पारेका यि दुई सहर अहिले कस्ता होलान् ? सबैको मनमा यो प्रश्न उब्जनु स्वभाविक हो । विनास पछि जापानले घटनालाई इतिहासको गाथा सम्झेर गरेको विकास र आविस्कार आज विश्वमा उदाहरण बन्ने गरेको छ ।

हिरोसिमा सहर ।

बम प्रहारपछि नरक जस्तै बनेका जापानका दुई सहर हिरोसिमा र नागासाकी आज विश्वका ठूला सहरमा गनिन्छन् । आज अमेरिकन नागरिक नै हिरोसिमा र नागासाकीको भ्रमणका लागि आउने गरेका छन् ।

अमेरिकाले सन् १९४५ अगस्त ६ र ९ तारिखमा जापानका दुई सहर हिरोसिमा र नागासाकीमा परमाणु बम खसालेको थियो । हिरोशिमामा खसालिएको परमाणु बममा १५ हजार विस्फोटक पदार्थको शक्ति थियो भने यसले १३ वर्गकिलोमिटर क्षेत्रलाई ध्वस्त पार्यो । हिरोशिमामा बम खसालेपनि जापानले आत्मसमर्पण गरेको थिएन ।

नागासाकी संग्रहालय ।

युद्धमा परमाणु बम प्रयोग गरिएको यो पहिलो घटना थियो । हिरोसिमा आक्रमण पश्चात तत्कालिन अमेरिकी राष्ट्रपति ह्यारी ट्रुमनले जापानलाई युद्ध रोक्न आदेश दिदै भनेका थिए, ‘अब पनि जापानले हाम्रो आदेश नमान्ने हो भने अन्य सहरमा हिरोसिमा जस्तै बर्बादीको वर्षा हुने छ ।’ नभन्दै अमेरिकाले जापानको तत्कालिन राजधानी नागासाकीमा सन् १९४५ अगस्त ९ तारिखमा अर्को एटमबम खसाल्यो । अमेरिकाले गरेका यि दुई बमहमलापछि जापानले सन् १९४५ अगस्ट १४मा आत्मसमर्पण गरेको थियो । यसपछि दोस्रो विश्वयुद्ध समाप्तिको मोड तर्फ गयो ।

बमको विकिरणको असरको कारण त्यस क्षेत्रका नागरिक वर्षैँसम्म विभिन्न रोगको सिकार बने । जापानले बम विस्फोटपछि ध्वस्त भएका संरचनालाई संरक्षण गरेर राखेको छ । बम विस्फोटमा मारिएका आफ्ना नागरिकको स्मरणका लागि सङग्रहालयको निर्माण गरेको छ । जहाँ त्यस समयमा विस्फोटमा मारिएका नागरिकको अवस्था, बमले जापानीज नागरिकको जीवनशैलीमा पारेको प्रभावका दृष्यहरु राखिएको छ ।

विश्वयुद्धमा नागासाकीमा बनाइएको एयर बम सेल्टर ।

हिरोसिमामा अमेरिकाले अगस्त ६ मा नै बम विस्फोट गरिसकेको थियो । अगस्त ९ अचानक विहान ११ बजे नागासाकीको आकाशमा पनि अन्धकार छायो । केही ठूलो आवाज आयो, भवनहरु ठल्न थाले । मानिसहरु बचाउ, पानी देउ भन्दै कराउन थाले । हजारौँले ज्यान गुमाए । भाग्यले बाँचेकाहरु आगो र धुँवामा मरेका अनगिन्तीहरुका बीचमा चिच्याइरहेका थिए । असहाय भएर राहत र उद्धारको लागि पर्खिरहेका थिए । हिरोसिमामा यस अगाडि नै अमेरिकाले वम विस्फोट गराएकाले नागासाकीमा पनि वम विस्फोट गरायो भन्ने अनुमान धेरैले गरिसकेका थिए । घटना स्थलको दृष्य दर्दानक थियो । एयर रेड शेल्टरका एक वृद्ध कर्मचारी वातानाबे ताकुमी त्यो घटना सम्झदैँ भन्छन् ।

नागासाकी सहर

ज्यान गुमाउनेको तथ्यांक त अनुमान मात्र हो । पछिसम्म वमको असरले धेरैको मृत्यु भयो । मैले पनि परिवारका सदस्य गुमाए । नागासाकीमा पनि लाखौँ परिवार घरबार बिहिन बने । यहाँका सहरको हालत ह्दयविदारक थियो । नागासाकी बम आक्रमणबाट त्यससमयमा बचेको एउटा संरचना यही ‘तातेयामा एयर रेड शेल्टर’ हो । हाल संरक्षित भग्नावशेष तातेयामा एयर रेड शेल्टरका कर्मचारी वातानाबे ताकुमीले रेड शेल्टर देखाउँदै भने । त्यो घटना अझैपनि स्मरणमा ताजै छ ।

बम विस्फोटले रेलवे स्टेशन, विद्यालयहरु, अस्पताल, उद्योगलगायतका नीजि तथा सार्वजनिक क्षेत्रमा पु¥याएको क्षतिले यहाँका मानिसको दैनिकी निकै कष्टकर बन्यो । नागासाकीमा घाइतेको संख्या मात्र ७५ हजार भन्दा धेरै थियोे । युद्धमा धेरै औद्योगिक र व्यवसायिक संरचना ध्वस्त भएका थिए । उद्योगका उपकरणहरु विस्फोटका लागि खर्च गरिएको थियो । अझ भनौँ अणुबमले पुरै जापान नमज्जासँग थलिएको थियो ।

नागासाकीमा युद्धको बेला बनाइएको तातेयमा एयर रेड सेल्टर र सेल्टरका कर्मचारी । अहिले यो सेल्टरलाई संरक्षण गरेर राखिएको छ । तस्बिरहरु : मनिषा चम्लागाईँ ।

युद्धपछिको जापान
एका तर्फ युद्धको पराजय अर्को तर्फ कमजोर अर्थतन्त्र र बेरोजगारी जापानका लागि सबैभन्दा ठूलो चुनौती बन्यो । विस्तारै जापानले युद्ध अघिको देशको आर्थिक अवस्था र विश्वबाट सिकेर अर्थतन्त्र मजबुत बनाउन तर्फ लाग्यो । कृषि क्षेत्रमा रोजगारीको अवसर सिर्जना गर्यो । युद्ध अघि जापानको कोइला मुख्य उर्जा स्रोत थियो । युद्धको पराजयपछि कोइला उत्पादन घट्यो । कोइलाखानीमा काम गर्ने कोरियाली र चिनियाँ नागरिकले परिवर्तित अवस्थामा काम गर्न अस्वीकार गरे । जसकारण कोइलाखानी ठप्प भए । युद्ध पछि जापानीज नागरिकले नै बन्द भएका कोइलाखानी पुनः सञ्चालनमा ल्याए ।

त्यस समयमा जापानमा मुद्रास्फीति पनि एक महत्वपूर्ण मुद्दा बन्यो । जसको कारण अस्थायी सैन्य व्यवस्थापनमा खर्च हुने ठूलो रकम थियो । त्यो खर्चको कटौती गरेसँगै जापानको अर्थतन्त्रमा सुधार आएको पाइन्छ । युद्ध अघि दुईतिहाई जापानी किसानले भाडामा जग्गा लिएर खेती गर्दै आएका थिए । जग्गामा किसानको पहुँच पुर्याउन जापान सरकारले जग्गा खरिद गर्यो । खेतीयोग्य जमीन राख्ने किसानहरु सामान्यतय किसान थिएनन् । यस प्रकारका विविध सुधार कार्यान्वयनमा आएसँगै जापानको अर्थतन्त्र पुनःर्जीवित हुनथाल्यो ।

१९५० को सुरुदेखि १९७०को शुरुवातसम्म जापानमा आर्थिक वृद्धिले फड्को मार्यो । जसलाई सरकारी नीति र जापानीज नागरिकको कडा परिश्रमको फल मानिन्छ । जापानले आयातित प्रविधि मर्ज गरेर कम लागातमा ठूलो उत्पादन गर्नेसक्ने प्रविधिको विकास गरेर संसारलाई नै अचम्मित बनायो । अन्य देशबाट प्राप्त ज्ञान आफ्नो प्रणालीमा फिट गर्ने जापानीज नागरिकको क्षमता आर्थिक वृद्धिमा टेवा पुर्याउने एक कारक तत्व हो ।

यसरी दोस्रो विश्व युद्ध अन्त्य भएको ४० वर्ष भन्दा कम अवधिमा जापान ठूलो आर्थिक शक्तिमा परिणत भयो । सन् १९४५ अघि जापानको सम्पूर्ण शक्ति युद्ध जित्न समर्पित थियो । आज यि दुई सहरले विश्वभरका लाखौँ नागरिकलाई रोजगारीसमेत दिएको छ ।

जापानमा दोस्रो विश्वयुद्ध अघि आर्थिक विकास खासै भएको थिएन । यद्यपि ठूलठूला उद्योग भने थिए । जापान विकासको मुख्य आधार भनेकै गुणस्तरीय काम र कामलाई जापानी नागरिकले गर्ने सम्मान हो । जापान क्षेत्रफलका हिसाबले नेपमलभन्दा २.५ गुणा मात्र ठूलो भएपनि कुल ग्राहस्थ उत्पादनको हिसाबमा विश्वकै तेस्रो ठूलो शक्ति हो ।

काम र भविष्यप्रति जापानीज नागारिक आशावादी भएकै कारण कुनै समयमा ध्वस्त भएका जापानका दुई सहर हिरोसिमा र नागासाकी आज विश्वकै ठूला सहरमा गनिन्छन् । जापानीज नागरिक इमान्दार र मेहेनती छन् । त्यही मेहेनतीपन र श्रमले जापानीज ब्राण्डले विश्वबजार ओगटन सफल भएको छ । देश बनाउन नेतृत्वकर्ता इमान्दार र नागरिक परिश्रमी हुनुपर्छ भन्ने कुरा जापानबाट सिक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्