अनुसन्धानमा असर पर्ने भन्दै ८ ट्रक सुपारी तत्काल नछाड्न अदालतको आदेश


Bazar Dainik
18 August, 2022 9:06 pm

झापा, भदौ २ । गत साउन ५ गते मोरङ प्रहरीले पक्राउ गरेको ८ ट्रक सुपारी तत्काल नछाड्न अदालतले आदेश दिएको छ । अनुसन्धानमा असर पर्ने भन्दै उच्च अदालत विराटनगरले बिहीबार दुबै पक्षको कुरा सुनेपछि तत्काल सुपारी छाड्न नपर्ने आदेश गरेको हो ।

मोरङ प्रहरीले निर्यात भई भारततर्फ गइसकेको ८ ट्रक सुपारी पक्राउ गरेर ८ गते राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको थियो । यसअघि साउन २९ मा अदालतले दुबै पक्षको कुरा सुन्ने भनेर साउन ३१ गते बोलाउँदै तत्काल सुपारी नछाड्न भनेको थियो ।

तर भन्सार विभागले साउन ३१ को छलफलसम्बन्धी पत्र बुझ्न नमानेपछि भदौ २ का लागि छलफल सारिएको थियो । सुपारी पक्रा परेपछि छाड्नका लागि मुद्दा परेको थियो ।

अदालतका कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी र न्यायाधीश किरणकुमारी गुप्ताको संयुक्त इजलासले निवेदन मागका अन्य कुराका हकमा लिखित जबाफ परेपछि निर्णय हुँदाका बखत बोलिने भन्दै तत्काल नछाड्ने निर्णयलाई निरन्तरता दिएको हो ।
आदेशअनुसार राजस्व अनुसन्धान कार्यालयले विराटनगर र जोगबनीका दुबै भन्सार कार्यालयले जाँचपास गरी सिलबन्दी गरेको ट्रकको सिल खोलेर थप अनुसन्धान गर्न मिल्ने भएको छ ।

‘निवेदनमा दाबी गरिएको नेपालमा उत्पादित ८ ट्रक (२ लाख १४ हजार २४० केजी) सुपारी निर्यातका लागि नेपाल उद्योग वाणिज्य महासङ्घ झापाले मिति २०७२–०७–०१ मा उत्पादनको प्रमाणपत्र दिएको भनिएकोमा नेपालको उत्पादित होकि होइन, सो परीक्षण गर्ने विज्ञ र परीक्षण गर्ने आधिकारिक निकायबाट पछिल्लो खरिदविक्रीताका प्राविधिक रूपमा परीक्षण भएको मिसिल कागजातबाट नदेखिएको’, संयुक्त इजलासले जारी गरेको आदेशमा भनिएको छ ।

पक्राउ सुपारी नेपालकै उत्पत्तिको हो भनी प्राविधिक परीक्षण भएको नेपाल सरकारको आधिकारिक निकायको परीक्षण प्रतिवेदनसमेत संलग्न नरहेको भन्दै छाड्न नमानेको हो ।

८ ट्रक सुपारीका धनी मनकामना इन्टरप्राइजेजका सञ्चालक नवीन घिमिरे सौर्य एअरलाइन्सका अध्यक्ष एवम् ‘सुपारी किङ’ दीपक पोखरेलका सालो हुन् ।

प्रतिक्रिया दिनुहोस्