करोडौँ ऋणमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान


Bazar Dainik
16 August, 2022 7:44 pm

झापा, साउन ३१ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान १ अर्ब ४१ करोड रुपैयाँ ऋणमा डुबेको छ । प्रतिष्ठान ऋणमा डुबेपछि अस्पतालले श्वेतपत्र जारी गरेको छ ।

प्रतिष्ठान आर्थिकरूपमा टाट पल्टने अवस्था आएपछि रजिष्ट्रार डा.सूर्यप्रसाद संग्रौलाले श्वेतपत्र जारी गरेका छन् । उनी केही दिनअघि मात्रै रजिस्ट्रारमा नियुक्त भएका हुन् ।

श्वेतपत्रमा भनिएको छ ‘आर्थिक अवस्था नाजुक भएको कारणले प्रतिष्ठानले अस्पताल सञ्चालन, परीक्षाको कार्यक्रम र अत्यावश्यक सेवाबाहेक शिक्षक कर्मचारीले पाइराखेको सुविधासमेत स्थगित गर्नुपरेको छ ।

श्वेतपत्रमा ‘प्रतिष्ठानका विशेषज्ञ र अनुभवी चिकित्सक एवं प्राध्यापकहरूमा निराशा उत्पन्न भई पलायन हुने अवस्था सिर्जना भएको’ उल्लेख छ ।

रजिष्ट्रार संग्रौलाले प्रतिष्ठानको पछिल्लो ४ आर्थिक वर्षको आयव्यय पनि सार्वजनिक गर्दै बीपी प्रतिष्ठानको खस्कँदै गएको आर्थिक अवस्थालाई स्पष्ट पार्न र जनतालाई देखाउन श्वेतपत्र सार्वजनिक गरेको बताएका छन् ।

एक शैक्षिक सत्रमा विद्यार्थी भर्ना गर्न नसकेका कारण १ अर्ब भन्दा बढि आम्दानी घटेको छ । आम्दानी घट्दा समेत सरकारले बजेट नपठाएको तर कर्मचारी हटाउन नसकेका कारण प्रतिष्ठान घाटामा गएको जनाइएको छ ।

र्थिक वर्ष २०७६/०७७ मा कोभिड महामारी सुरु भएपछि प्रतिष्ठानको आम्दानीलाई असर पुगेको श्वेत पत्रमा उल्लेख छ ।
श्वेत पत्रमा आर्थिक वर्ष २०७५/०७६ मा प्रतिष्ठान २९ करोड ४३ लाख ऋणात्मक भएको उल्लेख छ ।

सो वर्ष आन्तरिक आय र नेपाल सरकारबाट समेत गरी २ अर्ब १९ करोड ८५ लाख आम्दानी गरेको प्रतिष्ठानले उक्त वर्ष सञ्चालन खर्चतर्फ २ अर्ब ४९ करोड २८ लाख रुपैयाँ खर्च गरेको थियो ।

आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब ९१ करोड ६ लाख आम्दानी भएकोमा खर्च भने २ अर्ब ८२ करोड ४९ लाख भएको थियो । सो वर्षमा प्रतिष्ठान ९१ करोड ४३ लाख रुपैयाँ ऋणात्मक अवस्थामा पुगेको थियो ।

आर्थिक वर्ष २०७८/०७९ मा आम्दानी २ अर्ब ७१ करोड ४४ लाख भएकोमा खर्च भने ३ अर्ब १२ करोड ४४ लाख भएको छ । सो वर्ष पनि प्रतिष्ठानलाई ४१ करोड ऋण लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्