इलामको पिपुल्स पावरले साउन ३१देखि आईपीओ निष्कासन गर्दै


Bazar Dainik
12 August, 2022 5:37 pm

झापा, साउन २७ । पिपुल्स पावर लिमिटेडले ३१ साउनदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेपश्चात सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागेको हो ।

प्रतिकित्ता १०० अंकित मूल्यका २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।

जसमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषहरुमा सुरक्षित गरेको छ । बाँकी रहेको २२ लाख ९४ हजार ६८२ कित्ता सेयरका लागि सर्वसाधाणले आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा छिटोमा ५ भदौसम् मर उक्त अवधिमा माग अनुसारको आवेदन नपरेमा आवेदन दिने अवधि १४ भदौसम्म थप हुनेछ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड छ । कम्पनीले इलामको इलाम नगरपालिकामा ४.९६ मेगावाटको पुवाखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनको कुल अनुमानित दागत ९५ करोड ६ लाख ६९ हजार ७५१ रुपैयाँ ८१ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्