चर्चामा कांग्रेस महामन्त्री शर्माको चुनावी क्षेत्र


Bazar Dainik
12 August, 2022 5:09 pm

झापा, साउन २७ । केही दिन यता नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा मंसिर ४ गते हुने संसदीय चुनावमा कहाँबाट लड्ने तयारी गरिरहेका छन् भन्ने विषय राजनीतिक वृत्तमा बहस बनिरहेको छ ।

शर्मा निकट एक नेताका अनुसार उनी काठमाडौं क्षेत्र नम्बर ५ मा लड्ने तयारीसहित छलफल गरिरहेका छन् । काठमाडौं–५ बाट २०७४ मा कांग्रेसका प्रकाशशरण महत उम्मेदवार बनेका थिए । महतलाई हराएर नेकपा एमालेका नेता ईश्वर पोखरेलले चुनाव जिते ।

शर्मा यही क्षेत्रमा शर्मा उठ्ने तयारीमा छन् । महामन्त्री शर्मा २०७४ मा झापा क्षेत्र नम्बर १ बाट उठेका थिए । उनी नेकपा माओवादीका नेता राम कार्कीसँग पराजित भए । कार्कीले ३६ हजार एक सय ७३ मत ल्याएका थिए भने शर्माले ३३ हजार तीन सय १० मत मात्रै पाएका थिए ।

त्यसबेला नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर वाम गठबन्धन गरेर चुनाव लडेका थिए । शर्मानिकट ती नेताका अनुसार शर्मा मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावमा झापा १ मै लड्न चाहन्छन् । तर त्यहाँ उनलाई सजिलो अवस्था छैन ।
‘उहाँको पहिलो प्राथमिकता झापा–१ बाटै चुनाव लडेर जितेर आउनेमै हुन्छ । तर, झापामा कांग्रेसभित्रै आन्तरिक एकता देखिएको छैन । यसले महामन्त्री शर्मालाई अप्ठेरो पार्न सक्छ ।’ उनले भने ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र शर्माबीच झापामा लामो समयदेखि राजनीति सम्बन्ध सुमधुर छैन । एकले अर्को टिमलाई रोक्न खोज्ने स्रोतको दाबी छ ।

शर्मानिकट स्रोतका अनुसार सिटौला पक्षले शर्मालाई खुलेर सहयोग गर्ने अवस्था नदेखिएपछि शर्मा झापा–१ बाट यसपालि चुनाव लड्न हच्किएका छन् ।

गत स्थानीय चुनावमा पनि झापामा सिटौला र शर्मा समूहबीच सम्बन्ध राम्रो भएन । स्थानीय चुनावमा शर्मा र सिटौला पक्षबीच शक्ति संघर्ष देखिएको थियो ।

यसपालि सत्ता गठबन्धनका ५ दलभित्र चुनावी तालमेल गरेर जाने सहमति भइसकेको छ । उक्त सहमतिअनुसार सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन गरिएको छ । जसको संयोजकमा सिटौला छन् ।

शर्मानिकट ती नेताका अनुसार सिटौला सिट बाँडफाँट कार्यदलमा रहेकोले शर्मालाई प्रत्यक्षतर्फ टिकट नदिन उनले लबिङ गर्न सक्छन् वा त्यो क्षेत्र माओवादीलाई छाडिदिन सहमत हुन सक्छन् ।

कांग्रेस संसदीय बोर्डले टिकट बाँड्छ र उक्त बोर्डमा महामन्त्री शर्मा पनि हुन्छन् । शर्मालाई पार्टीभित्रबाट नै हराउन खोज्ने स्थिति देखा परे उनले यसपालि क्षेत्र परिवर्तन गर्दै काठमाडौं–५ बाट उठ्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्