नेपाली चिया गुणस्तरहीन भन्दै प्रतिबन्ध लगाउँदै भारत


Bazar Dainik
10 August, 2022 5:03 pm

झापा, साउन २५ । भारतले नेपाली चियामा मात्रात्मक प्रतिबन्ध लगाउने तयारी गरेपछि नेपालको समग्र चिया उद्योग यतिबेला आतंकित बनेको छ । नेपाली चिया आयातलाई सुरूमा मात्रात्मक प्रतिबन्ध लगाउने अनि विस्तारै पूर्ण बन्देज लगाउने गरीको प्रस्ताव अहिले भारतीय संसदका दुबै सदनमा पुगेको छ ।

राज्यसभा र लोकसभामा पुगेको उक्त प्रस्ताव पारित भए नेपाली चियाले आफ्नो मुख्य अन्तर्राष्ट्रिय बजार गुमाउने निश्चित छ । भारतीय संसदको राज्यसभा अन्तर्गतको ‘डिपार्टमेन्ट रिलेटेड स्ट्यान्डिङ कमिटी अन कमर्स’ ले तयार पारेको प्रतिवेदनको १७१ नम्बर बुँदामा नेपाली चियालाई आयात प्रतिबन्ध लगाउने कुरा उल्लेख छ । समितिले दुई वटा कारण औंल्याउँदै चिया आयात कसिलो पार्नुपर्ने बताएको छ ।

समितिले औंंल्याएको पहिलो कारण हो, नेपाली चिया गुणस्तरहीन छ । दोस्रो, एकदमै न्यून मूल्यको चिया मात्रै भारतीय बजार आइपुग्छ । गुणस्तरहीन चिया मात्रै नेपालले भारत पठाइरहेको आरोप लगाउँदै समितिले भनेको छ, ‘त्यसैले नेपाली चिया आयातमा मात्रात्मक प्रतिबन्ध लगाउनुपर्छ अथवा उच्च आकारमा ‘एन्टी डम्पिङ ड्युटी’ लगाउनुपर्छ ।’

समितिले आफ्नो प्रतिवेदनमा ‘नेपाली चिया आयात नीतिमा ‘रिभ्यू’ र ‘रिभिजिट’ पनि गर्नुपर्ने भनेपछि नेपाली पक्ष आत्तिएको हो । ‘नेपालमा उत्पादित चियाको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय बजार भारत नै हो, ज्यादै सानो हिस्सा मात्रै तेस्रो देश जान्छ,’ इलामका चिया उद्योगी पुनम राईले भने, ‘हाम्रो चियाको ९० प्रतिशतभन्दा बढी हिस्सा भारत जाने हो। अहिले जे जस्तो तयारी भइरहेको छ, त्यसले हाम्रो चिया भारत जान नसक्ने अवस्था सिर्जना हुनेछ ।’

नेपालका चिया उद्यमी तथा सरोकारवालाहरू त्रस्त बन्नलाई यसबेलाको समयले पनि काम गरेको छ। नेपाल–भारत वाणिज्य सन्धिको आवधिक पुनरावलोकन हुने बेलामै भारतले यस्तो तयारी गर्दा उनीहरूको चिन्ता बढेको हो ।

द्विपक्षीय वाणिज्य सन्धि अनुसार नेपालबाट भारत निर्यात हुने कृषिवस्तुमा कर नलिने उल्लेख छ। यतिमात्रै होइन, नेपालबाट आयात गरिने कृषि उत्पादनमा भारतले मात्रात्मक प्रतिबन्ध नलगाउने बुँदा पनि उल्लेख छ। यही विषयमा ‘रिभ्यू’ र ‘रिभिजिट’ गरिनुपर्ने राज्यसभा अन्तर्गतको ‘डिपार्टमेन्ट रिलेटेड स्ट्यान्डिङ कमिटी अन कमर्स’ को ठहर छ ।

हालसम्म कुनै पनि करको दायरामा नपरी भारत निर्यात भइरहेको नेपालको चियामा कर लगाउने अनि गुणस्तरका नाममा मात्रात्मक प्रतिबन्ध लगाइने भएपछि नेपाली चियाले अन्तर्राष्ट्रिय बजार गुमाउने खतरा बढेको भन्दै सरोकारवाला यतिबेला तीव्र दौडधुपमा जुटेका हुन् ।

भारतीय पक्ष नेपाली चियाप्रति यसरी अनुदार हुनुमा दार्जिलिङको दबाबले काम गरेको छ । नेपाली चियाका कारण आफूहरू मारमा परेको भन्दै दार्जिलिङका चिया उत्पादकले नेपालको चिया आयात रोक्न माग गर्दै आएको लामो समय भइसकेको छ ।
तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जी दार्जिलिङ आएका बेला नै दार्जिलिङका चिया उद्यमीले नेपालको चिया आयात रोक्न माग पत्र पेश गरेका थिए। त्यसयता उनीहरू निरन्तर दबाब दिइरहेका छन् ।

नेपाली चियालाई गुणस्तरहीन भन्दै रोक्न माग गर्ने दार्जिलिङका व्यवसायीहरूले नेपालकै चियालाई आफ्नो ट्रेडमार्क प्रयोग गरेर विश्व बजार पठाइरहेको आरोप नेपाली पक्षको छ । यसका बावजुद अहिले भारतमा जे तयारी भएको छ, त्यसले नेपाली चिया उद्योग संकटग्रस्त बन्ने जानकारहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्