नेपालमा तारे होटलको संख्या १ सय ६४


Bazar Dainik
9 August, 2022 7:38 pm

झापा, साउन २४ । पर्यटन विभागको तथ्यांक अनुसार नेपालका तारे होटलको संख्या १ सय ६४ पुगेको छ । यो संख्या विभागमा दर्ता भएर वर्गीकरणमा समावेश भएका होटलहरुको हो ।

तारे होटलले ८ हजार ५ सय ३ जनालाई प्रत्यक्ष रोजगारी दिएको पाइएको छ । पर्यटन विभागको तथ्यांक अनुसार एक तारेदेखि पाँचतारा डिलक्स र हेरिटेज र बुटिक होटलमा समेत गरी सो संख्यामा रोजगारी सिर्जना भएको छ । यो साधारण र पर्यटकीय स्तरका होटल बाहेकको तथ्यांक हो ।

तथ्यांक अनुसार नेपालमा सबैभन्दा धेरै होटल दुई तारे स्तरका छन् । दुई तारे स्तरको होटल संख्या ४३ रहेकोमा यी होटलमा औसतः २७.९७ जना कामदारले काम पाएको देखिएको छ । सबैभन्दा धेरै कामदार भने पाँचतारे होटलमा कार्यरत छन् । नेपालमा कुल १६ वटा पाँच तारे होटल दर्ता भएका छन् ।

यी होटलमा औसतमा २४१ जना कामदारले रोजगारी पाएका छन् । होटलको संख्या बढी भए पनि औसतमा सबैभन्दा कम रोजगारी एक तारे होटलमा भएको छ । एक तारे होटलले १५.७० जनालाई रोजगारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्