बढ्यो नेपालमा पर्यटकको आगमन


Bazar Dainik
4 August, 2022 7:06 pm

काठमाडौँ, साउन १९ । नेपालमा पर्यटक आगमन औसतमा दैनिक साढे १३ सय बढी पुगेको छ । कोभिड–१९ महामारीका कारण लगातार दुई वर्ष (सन् २०२० र २०२१ ) झन्डै शून्यमा झरेको पर्यटक आगमन सन् २०२२ पछि भने सुधारोन्मुख रहेको छ ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेकाअनुसार जुलाई २०२२ मा ४४ हजार ४६२ जना पर्यटक नेपाल आएका छन् । यससहित सन् २०२२ को ७ महिनाको अवधिमा कुल २ लाख ८५ हजार ३६३ जना पर्यटक नेपाल आएका छन् । यो तथ्यांक अनुसार दैनिक पर्यटक आगमन औसतमा १,३५९ जना पुगेको हो ।

कोरोना महामारी आउनु अगाडि सन् २०१९ को ७ महिनाको अवधिमा ६ लाख १२ हजार ७६४ जना पर्यटक आएका थिए । सो तथ्यांक अनुसार उक्त वर्ष दैनिक पर्यटक आगमन औसतमा २,९१८ थियो । यसले कोभिडबाट प्रभावित पर्यटन क्रमशः सुधारको बाटोमा देखिएको छ ।

वर्षायामको समयलाई नेपालमा पर्यटनको अफसिजन मानिन्छ । तर भारतीय पर्यटकको आगमनले यस सिजनमै पर्यटनमा उत्साह थपेको छ । जुलाई २०२२ को एक महिनामा भित्रिएका कुल ४४ हजार ४६२ मध्ये ३८.९ प्रतिशत भारतीय छन् । अर्थात एक महिनामा १७ हजार २९९ जना भारतीय पर्यटक नेपाल आएका छन् ।

नेपालले हवाईमार्गबाट आएका भारतीयहरुलाई मात्र पर्यटक मान्छ । सन् २०१९ को जुलाईमा कुल ५८ हजार ८११ जना पर्यटक आएका थिए ।

प्रतिक्रिया दिनुहोस्