अमेरिकी सभामुख न्यान्सी पेलोसी पुगिन् ताइवान, अमेरिका–चीन तनाव शिखरमा


Bazar Dainik
2 August, 2022 10:18 pm

झापा, साउन १७ । अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन् । चीनको चर्को दबाबका बीच अघोषित भ्रमणमा पेलोसी ताइवानको सोङसान विमानस्थलमा ओर्लिएकी हुन् ।

सोमबार एसिया भ्रमणमा निस्केकी पेलोसी मलेसिया हुँदै ताइवान पुगेकी हुन् । उनी चढेको यूएस सी–४० सी विमान मलेसियाबाट सिधै दक्षिण चीन सागर हुँदै जानुको सट्टा घुमेर फिलिपिन्स सागर माथिबाट ताइवान पुगेको थियो ।

चिनियाँ जनमुक्ति सेनाको विमानले बाटो छेक्न सक्ने अनुमान गरेर पेलोसीको विमानले घुमाउरो मार्ग तय गरेको विश्वास गरिएको छ ।

पेलोसीको विमानलाई ताइवानी सैन्य विमानहरुले एस्कोर्ट गरेका थिए । स्थानीय समयअनुसार १० बजेर ४३ मिनेट जाँदा उनको विमान ताइवानमा अवतरण भएको थियो ।

यो भ्रमणलाई लिएर अमेरिका र चीनबीचको तनाव शिखरमा पुगेको छ । अमेरिका र चीन दुवैले ताइवान जलसन्धिमा सैन्य गतिविधि र तयारी बढाएका छन् । पिपुल्स डेलीले पेलोसी उत्रिनै लाग्दा चिनियाँ एसयू–३५ लडाकु विमानले ताइवान जलसन्धि पार गरेको बताएका छन् ।

पेलोसीले बुधबार ताइवानी राष्ट्रपति साइ यिङ वेनलाई भेट्ने बताइएको छ । १९९७ यता यति उच्च अमेरिकी अधिकारीले गरेको यो पहिलो ताइवान भ्रमण हो । अमेरिकामा सभामुख राष्ट्रपतिको उत्तराधिकारीको सूचीमा दोस्रो नम्बरमा रहने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्