कालोसूचीमा राखिएको नेपालको हवाई क्षेत्रको अडिटमा आउँदै ईयूको टोली


Bazar Dainik
31 July, 2022 3:34 pm

झापा, साउन १५। नेपालको हवाइ क्षेत्रलाई निरन्तर कालोसूचीमा राखेको युरोपेली संघ (ईयू)ले नेपाललाई कालोसूचीबाट हटाउने संकेत गरेको छ । यसका लागि नेपाली हवाइ क्षेत्रको अन साइट अडिट गर्न टोली पठाउने भएको हो ।

ईयूले गत शुक्रबार नेपाललाई अडिट टोली आउने जानकारी पत्रमार्फत दिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जानकारी दिएका हुन् ।

अन्तर्राष्ट्रिय हवाइ उड्डयन संगठन (आईकाओ)ले नेपालको हवाइ क्षेत्र सुरक्षित रहेको बताइसके पनि ईयूले कालोसूचीबाट नेपाललाई हटाएको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणले पटक–पटक नेपाललाई कालोसूचीबाट हटाउन ईयूसामु माग गर्दै आएको छ ।

मन्त्री श्रेष्ठले आइतबार प्राधिकरणमा आयोजित एक कार्यक्रममा भने, ‘शुक्रबार ईयूले पत्रमार्फत हामी आउँदै छौँ भनेको छ । त्यसपछि कालोसूचीबाट हट्ने नहट्ने थाहा हुन्छ ।’

उनका अनुसार ईयूको टोली अन साइट अडिटका लागि नेपाल आउनलागेको हो । यसपछि नेपाल कालोसूचीबाट हट्ने मन्त्री श्रेष्ठले बताए ।

ईयूले सहकार्य गर्न चाहेको बताउँदै उनले त्यसकै लागि अन साइट अडिट गर्न टोली आउनलागेको उनको भनाइ थियो । उनले ईयूले नेपाललाई किन कालोसूचीमा राख्यो भन्ने जान्नुपर्नेमा जोड दिए ।

ईयूको कालोसूचीमा भएकाले नेपाली जहाजले ईयूको आकाश प्रयोग गर्न पाएको छैन । नेपालका जहाजहरुले ईयूबाहेक अन्य देशहरुमा भने उडान गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्